Main News

एमाले-पहिचान पक्षधर कोशीमा आमनेसामने ! (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २६ गते १५:०४
एमाले-पहिचान पक्षधर कोशीमा आमनेसामने ! (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०८० विराटनगर । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा निस्केको एमाले मध्य नेपाल आइपुगेको छ । बागमती प्रदेश हुँदै मंसिर २६ मा कोशी प्रवेश गर्दैछ । एमालेको बलियो पकड भएको प्रदेश भएपनि कोशीमा भने केही सकस हुने सम्भावना देखिँदैछ ।

प्रदेशको नामकरणमा देखिएको विवादले एमालेविरुद्ध केही पहिचान पक्षधर नेता तथा सामाजिक संघसंस्थाहरू विरोधमा छन् । पहिचानवादीले बन्दको घोषणा गरिरहँदा एमालेले आइतबार पहिचानवादीलाई एमालेसँग प्रतिशोध नसाध्न अपिल गरेको छ । तर, मुठभेठको खतरा भने रोकिएको छैन ।

नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा मंगलबारदेखि कोशी प्रदेश प्रवेश गर्दै गर्दा पहिचानवादी पक्षधरले भने एमालेसँग मुठभेड गर्ने योजना बनाएका छन् । एमालेकै कारण प्रदेशको नाम कोशी राखिएको भन्दै रुष्ट रहेका पहिचानवादीले समानान्तर अभियाननै चलाइरहेका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिको ब्यानरमा मंसिर १४ देखि ‘घुर्मी–चिवाभञ्याङ जनजागरण अभियान’ सुरु भएको छ । साथै एमालेको यात्रा र कार्यक्रम हुने जिल्लामा बन्द आह्वान गरिएको छ । त्यसलाई रोक्न आइतबार एमाले कोशी प्रदेशले पत्रकार सम्मेलन नै गरेर पहिचानवादीलाई संकल्प यात्रामा सहयोग गर्न अपिल गर्नुप¥यो ।

मंगलबार एमाले र पहिचान पक्षधरबीच घुर्मीमा आमनेसामने हुनेछ । दुवै पक्ष भने संयमता अपनाउने भन्दा पनि एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिएकाले मंगलबार झडपको सम्भावना छ ।

आइतबारको पत्रकार सम्मेलनले एमालेले झडप नगर्न अपिल गरेपनि पहिचानपक्षधर एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि झन् आक्रोशित भएका छन् । हुन पनि पर्वतमा ओलीले कोशी प्रदेशका पहिचानवादीहरूलाई आतंककारी गतिविधि नगर्न भन्दै चेतावनी दिनुभएको थियो । उहाँले कोशी कसैको विर्ता नभएको सम्म भन्न भ्याउनुभएको थियो । त्यसैले पनि पहिचानवादी थप आक्रोशित मुद्रामा देखिएका छन् ।

यो संकल्प यात्रा सुरु गरेदेखि नै एमालेलाई कोशीमा झडपको अवस्था सिर्जना हुने बारे जानकार देखिन्छ । मंसिर १० मा एमाले सचिव योगेश भट्टराई संकल्प यात्रा सुरु हुनुअघि पहिचान पक्षधरको आक्रमणमा पर्नुभएको थियो ।

ताप्लेजुङमा कोशी नामकरणविरुद्धको आन्दोलनको विपक्षमा बोलेको भन्दै भट्टराई सवार गाडीमा तोडफोड समेत भएको थियो । त्यसअघि पनि पहिचानवादीबाट एमालेका सांसदमाथि आक्रमणको प्रयास हुँदै आएका छन् । ओली नै पाँचथरमा आयोजित कार्यक्रममा जाँदा कालो झण्डा देखाइएको थियो । त्यसैले पहिचानवादी उग्र भएकाले प्रहरीले मंगलबारदेखि विशेष सुरक्षा योजना लागु गरेको छ । तीन हजार बढी प्रहरी परिचाल गर्ने प्रहरीको तयारी छ ।

कोशीमा चलिरहेको पहिचानवादीको निषेधको राजनीति र एमालेको पहिचानपक्षधरको प्रतिरोध हुने बुझ्दाबुझ्दै हुन लागेको कार्यक्रमले सप्तरीको मलेठमा भएको मुठभेड दोहोरिने डर छ । जतिबेला संविधानमा असन्तुष्टि जनाउँदै मधेस बलिरहेको थियो, नेकपा एमालेले मेची–महाकाली अभियान शुरु गर्‍यो । सप्तरीको मलेठमा दुई झडप भयो र सुरक्षाकर्मीले गोली चलाउँदा पाँचजनाको मृत्यु भयो । यतिबेला एमालेले पूर्वी क्षेत्रमा आक्रोशित बनिरहेकाहरुविरुद्ध एमाले संयमित नहुने हो भने मलेठ दोहोरिने जोखिम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *