एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ

२६ मंसिर २०८० काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ ।
एनसेलविरुद्धको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ । एनसेलविरुद्ध स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।
लगातार दुई दिन हेर्न नभ्याइनेमा परेको रिटको पेशी आज न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो ।
सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको दाबी गर्नु भएको छ ।
सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाउनु भएको छ ।
प्रतिक्रिया