एमालेको अभियानमा अवरोध गर्ने आठ जना पक्राउ
२६ मंसिर २०८० काठमाडौं । कोशी प्रदेशमा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीलाई पक्राउ गरिएको हो ।
अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको छ ।
एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि यहाँ सुरक्षा निगरानी बढाइएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै केही बेरअघि कोशी प्रदेश छिरेको छ ।
बाँकी ६ दिन एमालेले यही प्रदेशमा बिताउनेछ । गोपाल किरातीलगायत पहिचानवादी नेताले एमालेको यात्रालाई अवरोध गर्ने भन्दै भड्किलो अभिव्यक्ति दिएका थिए । तर, प्रदेशका सुरक्षा निकायका प्रमुखले सुरक्षा प्रत्याभूतिमा कुनै कमी नहुने बताएको छ । जनपथ र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कार्यक्रमस्थलको अनुगमनमा खटिएका छन् ।
प्रतिक्रिया