जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट
२५ मंसिर २०८० जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ ।
३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले २८ लाख २८ हजार ७२५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको जानकारी दिनुभयो । भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार १७२ रूपैयाँ बराबरका पशुपन्छीको क्षति भएको कार्यालयले जनाएको छ ।
जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।
प्रतिक्रिया