चिकित्सा शिक्षा ऐन संशोधन हुने स्वास्थ्यमन्त्री बस्नेतको दावी
२५ मंसिर २०८० काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुने दावी गर्नुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारसँग स्वास्थ्यमन्त्री बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताउनुभएको हो । उहाँले डा। गोविन्द केसीप्रति लक्षित गर्दै कोही सुत्छु भन्दैमा सरकार ऐन संशोधनबाट पछि हट्न नसकिने तर्क गर्नुभयो । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालको मेडिकल शिक्षा धराशायी बन्दै गएको उहाँको भनाइ छ ।
चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उहाँको भनाइ छ । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने दावी गर्नुभयो ।
सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको बस्नेतले जानकारी दिनुभयो ।
डा. केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराउनुभएको थियो ।
प्रतिक्रिया