पितृको नाममा शतबीच छरेर मनाइयो बाला चतुर्दशी पर्व

२५ मंसिर २०८० काठमाडौं । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ ।
हिजो साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ ।
आज बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १ सय ८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन छ । शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ ।
भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।
प्रतिक्रिया