Main News

अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

हिमालय टिभी
२०८० मंसिर २४ गते १३:०६
अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

२४ मंसिर २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिनुभयो ।

उहाँले फ्लाई दुबईको एफजेड फाइभ सेभेन थ्री विमानमार्फत गएराति काठमाडौं ओर्लिएका लासिममाथि शंका लागेपछि जाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि पक्राउ गरिएको बताउनुभयो । लासिमले सुनलाई धुलो जस्तै बनाएर ज्याकेटभित्र राखेर ल्याएका थिए ।

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ । सीसी क्यामेरा फुटेजका आधारमा प्रहरीले लासिमसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् ।

विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिएको थियो । गत बिहिवार फ्लाई दुबईकै विमानमार्फत आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *