पृथ्वीराजमार्गमा बढ्दो ट्राफिक जाम, प्रयोगकर्ता हैरान (भिडियो रिपोर्टसहित)
२३ मंसिर २०८० धादिङ । पृथ्वीराजमार्गमा बढ्दो सवारी चापका कारण यसै पनि बेला बेला ट्राफिक जाम हुने गरेको छ ।
त्यसमा पनि यान्त्रिक गडबडिले बिग्रेका सवारी साधन घण्टौं सडकमै रहँदा जामको समस्या अरु थपिने गरेको छ । सवारी जामको हैरानी भने यात्रु, चालक सहचालकले खेप्नु पर्छ ।
गत मंसिर ३ गते देशकै सबै भन्दा पृथ्वीराजमार्गमा सवारी जामले गर्दा अस्तव्यस्त बन्न पुग्यो । सवारी साधन विग्रेर सडकमै बस्दा घण्टौ जाम भयो भने हजारौं यात्रुले सास्ती खेप्न बाध्य भए । तर, यो पहिलो पटक होइन पृथ्वी राजमार्गमा सवारीसाधन बिग्रेर सधैँ जाम हुने गरेको छ ।
बिग्रेका सवारी साधन हटाउने हेभी इक्यूपमेन्ट नभएका कारण ट्राफिक प्रहरी मुकदर्शक भएर बस्नु पर्ने अवस्था छ । पृथ्वीराजमार्गमा दैनिक दुईदेखि चार वटा सवारी साधन बिग्रिने गरेको छ । सवारीसाधन बिग्रने बित्तिकै यो सडक एकतर्फी हुने र जाम बढ्ने गर्दछ ।
बिग्रेका सवारी साधन क्रेन अर्थात र्याकरले उठाउनुपर्ने भएपनि प्रहरीलाई त्यो अहिलेसम्म उपलब्ध भएको छैन । जाम कम गर्न त्यस प्रकारका सामग्री आवश्यक पर्ने गरेको प्रहरी बताउँछन् । यस्तै, दुर्घटना पनि हुने हुँदा दमकल र एम्बुलेन्सको पनि उत्तिकै आवश्यकता रहेको प्रहरी बताउँछन् ।
यता, सडक विभागले भने सवारीसाधन हटाउने उपकरण उपलब्ध भएको दावी गर्दछ । तर कतिबेला र कहाँ सवारी साधन बिग्रन्छ भन्न नसकिने भएकाले समस्या आएको सडक विभागको भनाइ छ ।
निजी संस्थाका उपकरण मगाएर बिग्रेका सवारी साधन हटाउँदासम्म घण्टौं लाग्दछ । जसले गर्दा जामको समस्या थप बढ्ने गरेको छ । व्यस्त राजमार्गमा ठाउँ ठाउँमा क्रेन, एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक उपकरण राख्न अब ढिलाई नगर्ने कि ?
प्रतिक्रिया