कोशी प्रदेशमा घरेलु हिंसाका घटनाको ग्राफ बढ्दै (भिडियो रिपोर्टसहित)
२३ मंसिर २०८० मोरङ । कोशी प्रदेशमा घरेलु हिंसाका घटनाको ग्राफ प्रत्येक बर्ष बढिरहेको छ। यतिसम्मकी घरेलु हिंसाका घटनामा प्रहरीसमक्ष पुगेका उजुरी पनि मिलापत्रमा टुंगिने गरेका छन् ।
प्रहरीकै तथ्यांकलाई आधार बनाएर हेर्दा महिलाविरुद्ध हुने घरेलु हिंसाको विरुद्धमा वर्षेनी अभियान चलाइए पनि त्यो निष्प्रभावी देखिएको छ भने पीडकले उन्मुक्ति पाइरहेका छन् ।
अहिले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । तर कोशी प्रदेशमा पछिल्ला तीन वर्षको तथ्याङक हेर्दा महिलामाथिको घरेलु हिंसा बढेको देखिन्छ ।
उजुरी बोकेर प्रहरी कार्यालय जाने अधिकांश पीडितलाई मिलापत्र गराएर पठाइने गरेको छ । प्रहरी अधिकारीका अनुसार पीडितले नै बयान फेर्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेका छन् ।
प्रहरीको अभिलेख अनुसार घरेलु हिंसामा परेर उजुरी दिएका मध्ये दुई तिहाई बढी उजुरी मिलापत्रमा टुङ्गिने गरेका छन् भने बाँकी उजुरीकर्ता मध्ये धेरैजसो सम्पर्कमै आउँदैनन् ।
आ।व। २०७७–७८ मा घरेलु हिंसाका ९१६ उजुरी दर्ता भएकामा आधा भन्दा बढी अर्थात् ६९० उजुरी मिलापत्रबाट टुंगिएका छन् । जसमध्ये अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । जसमा १ सय ३९ उजुरीलाई प्रहरीले अदालत लगेको थियो । सो आर्थिक वर्षमा २६ उजुरीकर्ता सम्पर्कमा नआएको उल्लेख छ ।
आर्थिक वर्ष २०७७–७८
कुल उजुरी– ९१६
मिलापत्र भएका– ६९०
अदालत पुगेका मुद्दा– १३९
सम्पर्कविहीन भएका उजुरीकर्ता– २६
यस्तै आर्थिक वर्ष २०७८–७९ मा दर्ता भएका घरेलु हिंसाका १ हजार ३३३ उजुरीमध्ये १ हजार २३७ उजुरी मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ३३ उजुरी प्रहरीले अदालत लगेको थियो । उजुरीकर्तामध्ये ५५ जना सम्पर्कमै आएनन् ।
आर्थिक वर्ष २०७८–७९
कुल उजुरी– १३३३
मिलापत्र भएका– १२३७
अदालत पुगेका मुद्दा– ३३
सम्पर्कविहीन भएका उजुरीकर्ता– ५५
आर्थिक वर्ष ०७९–०८० मा दर्ता भएका घरेलु हिंसाका १ हजार ४७४ उजुरीमध्ये १ हजार ५७ उजुरी मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ५७ उजुरी प्रहरीले अदालत लगेको थियो । उजुरीकर्तामध्ये ४५ जना सम्पर्कमा आएनन् ।
आर्थिक वर्ष २०७९–८०
कुल उजुरी– १४७४
मिलापत्र भएका– १०५७
अदालत पुगेका मुद्दा– ५७
सम्पर्कविहीन भएका उजुरीकर्ता– ४५
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म कुल ६३५ घरेलु हिंसाका उजुरी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका छन् । तीमध्ये ४३४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको छ भने ५ उजुरी प्रहरीले अदालत लगेको पठाएको छ । उजुरीकर्तामध्ये २४ जना सम्पर्कमा नआएको प्रहरीको अभिलेखमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०–८१ कात्तिकसम्म
कुल उजुरी– ६३५
मिलापत्र भएका– ४३४
अदालत पुगेका मुद्दा– ५
सम्पर्कविहीन भएका उजुरीकर्ता– २४
कोशी प्रदेश प्रहरी कार्यालयको यो तथ्यांकले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको देखाउँछ ।
कुटपिट गरी घर निकाला गरिएको, शारीरिकसँगै मानसिक यातना दिएको, आवश्यक खर्चसमेत नदिई आर्थिक अभावमा पारेर यातना दिएकोलगायतका उजुरी प्रहरीमा आउने गरेको छन् । प्रहरीबाहेक प्रदेशका सबै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी पनि मिलापत्रमै टुंगिने गरेको पाइन्छ ।
घरेलु हिंसाका पीडक घर भित्रकै व्यक्ति र त्यसमा पनि श्रीमान हुने गरेकाले पनि पीडित महिलाहरुले श्रीमान् विरुद्ध अदालत जान अस्वीकार गर्ने गरेका छन् ।
प्रहरीको तथ्यांक अनुसार देशभर गत आर्थिक वर्षमा १६ हजार पाँच सय १९ घरेलु हिंसाका उजुरी आएका छन् । मधेश प्रदेशमा यस्ता घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । सरकारी तथा गैरसरकारी निकायले वर्षेनी महिला हिंसाविरुद्ध अभियान चलाएपनि हिंसाका घटनामा कमी नआउनु दुखद भएको अभियन्ता बताउँछन् ।
प्रतिक्रिया