कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल कांक्रेबिहार पुग्ने सडक स्तरोन्नतीको काम अलपत्र (भिडियो रिपोर्टसहित)
२२ मंसिर २०८० सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल कांक्रेबिहार पुग्ने सडक स्तरोन्नतीको काम अलपत्र छ ।
वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकदेखि शिव मन्दिर हुँदै काँक्रेविहार पुग्ने सडकको काम आसार १५ गते सक्नेगरी सम्झौता भएपनि अझै तीस प्रतिशत काम बाँकी छ । कम छिटो सम्पन्न गर्न ठेकेदार लगायत सम्बन्धित निकायलाई दबाब दिनका लागि नागरिक सडकमा उत्रिँदा वडाध्यक्षले समेत साथ दिएका छन् ।
सुर्खेतको काँक्रेविहार सडक खण्डको ठेक्का लागेको दुई वर्ष नाघे पनि बल्ल ७० प्रतिशत काम पूरा भएको छ । गत असारमा काम सकाउनुपर्ने भएपनि ठेकेदारले फागुन १५ गतेसम्मका लागि म्याद थप पाएको छ । तर, कामको गति हेर्दा बाँकी तीन महिनामा पनि काम नसकिने पक्कापक्की छ । ठेकेदारलाई यथाशक्य काम सम्पन्न गर्न दबाब दिनका लागि नागरिक सडकमा उत्रिएका छन् । जसको नेतृत्व वडा नम्बर ९ का वडाध्यक्ष ऋषि गिरीले गर्नुभएको छ ।
अम्मर सिस्ने–नेपाल मेगा जेभी कम्पनीसँग २०७८ कात्तिकमा डेढ वर्षमा काम सक्ने गरी १२ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । जस अनुसार २४ सय मिटर सडक निर्माणको काम २०८० असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म कम्पनीले ७० प्रतिशत काम मात्रै सम्पन्न गरेको छ ।
समयमा काम सम्पन्न नहुँदा स्थानीयवासी हिउँदमा धुलो र वर्षामा हिलोले आजित छन् । ठेकेदार भने पछिल्लो समय फिल्डमै नगएको उनीहरुको आरोप छ । समयमा काम सम्पन्न हुने संकेत नदेखिए चरणबद्ध आन्दोलन गर्ने नागरिकको चेतावनी छ ।
ठेकेदार कम्पनीले अहिलेसम्म सडकमा बेस बिछ्याउने काम गरेको छ । नाला र त्यसमाथि स्ल्याब बनाउने काम बाँकी नै छ । कालोपत्रेको काम सुरु भएको छैन । धुलोले सास्ती दिएपछि स्थानीयले गत असारमा सडक नै अवरुद्ध समेत गरे ।
त्यसपछि भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अनुगमनमा गएपछि ठेकेदारले नौ महिनाको म्याद थप पायो । तर, काम भने अघि बढाएन । यो बाटो समयमा नबन्दा स्थानीयलाई मात्र होइन कांक्रेविहारमा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत सास्ती भएको छ ।
प्रतिक्रिया