
२२ मंसिर २०८० काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा गएराति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।
भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा हुनुहुन्छ ।
गएराति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ परेका थिए । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच, रसुवा नाका हुँदै भित्रिएको दुई किलो सुन काठमाडौंको नागढुंगाबाट प्रहरीले बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया