Main News

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान

हिमालय टिभी
२०८० मंसिर २२ गते १३:०८
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान

२२ मंसिर २०८० काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

पर्सि मंसिर २४ देखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।

पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ भने ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुष १६ गते निर्वाचन लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

पुष २० देखि २९ गतेसम्म मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यसमाथि दाबी विरोध तथा उजुरीहरू लिने, अन्तिम नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरू हुने आयोगले जनाएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते रिक्त हुने २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ पदका लागि निर्वाचन हुनेछ । रिक्त १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *