Main News

धादिङमा दुई घटनाका चार प्रतिवादी पक्राउ

२०८० मंसिर १९ गते १४:०१
धादिङमा दुई घटनाका चार प्रतिवादी पक्राउ

१९ मंसिर २०८० धादिङ । हत्यामा संलग्न रहेका चार जना फरार प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।

फरक फरक दुई घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनी चोरी मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीया वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

‘मृतकको अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राती आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भन्नुभयो– ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको हो । हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो ।’

यसैबीच धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए । हत्या गरी फरार रहेका वयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताउनुभयो ।

‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरीरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भन्नुभयो । प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राबीच करिव ६ वर्षअघि विवाह भएको थियो । विवाह पश्चात लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पतीबीच त्यति बेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । त्यही कारण हत्या भएको हुन सक्ने एसपी मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *