Main News

नक्कली भूटानी शरणार्थी प्रकरणः धरौटी बुझाएकालाई सम्पत्ति शुद्धीकरण विभाग बुझाउने तयारी

हिमालय टिभी
२०८० मंसिर १८ गते १३:०९
नक्कली भूटानी शरणार्थी प्रकरणः धरौटी बुझाएकालाई सम्पत्ति शुद्धीकरण विभाग बुझाउने तयारी

१८ मंसिर २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएका तीनसहित चार जनालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाउने तयारी गरिएको छ।

उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, नरेन्द्र केसी र शमशेर मियाँ धरौटी बुझाएर पनि रिहा हुन पाएनन् ।

महर्जनले १५ लाख, केसी र मियाँले १०–१० लाख धरौटी बुझाएका हुन्। उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले रिहा नगरिएको हो । धरौटी बुझाएका तीनजनासहित साधारण तारेखमा छाड्न आदेश भएका आषिश बुढाथोकीलाई पनि विभागमै बुझाइने छ ।

उच्च अदालत पाटनले यो प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको थियो। यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ।

टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी नबुझाएका अन्यको हकमा भने धरौटी बुझाएपछि निर्णय हुने जनाइएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको थियो। खाणको मुद्दामा न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशका लागि पठाइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *