नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
१५ मंसिर २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स, यूएईका लगानीकर्तालाई आग्रह गर्नु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप- ट्वेन्टी एट मा सहभागी हुन दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले हिजो साँझ नेपालदुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी प्रतिफल उठाउन आह्वान गर्नुभयो ।
दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा आवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । उहाँले वैदेशिक लगानी भित्र्याउन सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी पनि गराउनु भएको थियो ।
यूएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको प्रधानमन्त्रीको भनाइ थियो ।
दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका क्षेत्र प्रशस्त रहेको बताएको दूतावासले जनाएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई देशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा यूएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । कोप( ट्वेन्टी एट हिजो दुबईमा शुरु भएको छ ।
प्रतिक्रिया