भूटानी नक्कली शरणार्थी प्रकरणः उच्च अदालतले आज आदेश दिने

१५ मंसिर २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने भएको छ ।
काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउन सक्नेछ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाको पुनरावेदन निवेदनमाथि हिजो सुनुवाइ सकिएको थियो ।
उच्च अदालतमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ भइरहेको थियो । मंगलबार प्रतिवादीतर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र हिजो खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । हिजै खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।
न्यायाधीशद्वयको इजलासमा मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि उनीहरुले थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।
प्रतिक्रिया