Main News

जलवायु परिवर्तनको असरबारे छलफल गर्न २८औँ सम्मेलन कोप–२८ हुँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ११ गते १३:५५
जलवायु परिवर्तनको असरबारे छलफल गर्न  २८औँ सम्मेलन कोप–२८ हुँदै (भिडियो रिपोर्टसहित)

११ मंसिर २०८० काठमाडौं । जलवायु परिवर्तनको असरबारे छलफल गर्न नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा संयुक्त राष्ट्रसंघीयसंरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ हुँदैछ । त्यसमा नेपालले आफ्ना समस्या स्पष्टरुपमा राख्ने बताएकोछ ।

नेपालको हिमाली भेगमात्र होइन, पहाडी र तराईमा समेत यसको प्रभाव प्रष्ट देखिएको छ । वितेको १० वर्षको हिउँदमा हिउँदे वर्षा न्यून बन्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ । पहाड र तराईका विभिन्न भूभाग सुख्खामा परिणत हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हालैमा नेपाल भ्रमण गर्नुभयो । नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने संयुक्त राष्ट्रसंघीयसंरचना महासन्धिको २८ औँ सम्मेलन कोप–२८ लाई सन्देश दिने गरी हिमाली राज्य नेपालबाट महासचिव गुटेरेसले दिएको सन्देश महत्वपूर्णछ । हरेक वर्ष बढ्दो तापक्रम र मानवीय त्रुटीले हिमाली राज्य सुख्खामा परिणत हुँदै गरेको सन्देश मानवजातीकै लागि सोच्न बाध्य पार्ने विषय बन्न सक्छ ।

दश वर्षमा हिउँदे वर्षाको अवस्था के छ ?
जल तथा मौसम विज्ञान विभागले मंसिरदेखि फागुनसम्मलाई हिउँदको रुपमा लिने गरेको छ । यी महिनाको अवधि अर्थात हिउँदमा नेपालमा औसत ६० मिलिमिटर वर्षा हुनुपर्छ । तर, वितेको दश वर्ष अर्थात २०७० सालयता औसतभन्दा निकै कम वर्षा भएको तथ्यांक छ । नेपालमा यो अवधिमा खडेरी बढेको छ । २०७२–०७४ र २०७७ सालमा औसतभन्दा ७५ प्रतिशतले कम वर्षा भएको रेकर्ड रहेको छ ।

यो अवधिमा औसतमा ४५ प्रतिशतमात्र पानी पर्यो । २०७७ सालको हिउँदमा जम्मा ८ दशमलव १ मिलिमिटर मात्र वर्षा भयो । गत वर्षको हिउँदमा ७ दशमलव ९ मिलिमिटर मात्र हिउँदे वर्षा भएको थियो । समग्रमा हिउँदे वर्षा १३ दशमलव १५ प्रतिशत मात्र वर्षा भएको रेकर्ड जल तथा मौसम विज्ञान विभागसँग छ । यो वर्षको हिउँदमा अहिले नै पानी पर्ने सम्भावना न्यून छ । यो वर्ष पनि आवश्यक वर्षा हुने सम्भावना न्यून रहेको बताइन्छ ।

वर्षाको मात्रा कम हुँदै जाँदा आगलागीका घटनाहरु बढ्न सक्छन् । यसले नेपालका अधिकांश भूभागमा खडेरी उत्पन्न गर्न थालेको छ । लामो समयसम्म पानी नपर्दा पानीका स्रोतहरुमा फोहोर तथा धूलो जम्दा प्रदूषण हुने र गुणस्तरमा कमी आउँछ । यस्तै, यसले कृषि प्रणाली र उत्पादकत्वमा पनि असर पर्छ ।

समयमा वर्षा नहुने भए पनि एकै पटक भीषण वर्षा हुँदा कृषि तथा अन्य खाद्यबालीको उत्पादनमा असर तथा प्रभाव पर्ने घटनाहरु नेपालमा पछिल्लो समय बढ्दै गएको छ । २०७६ सालमा हिउँदमा १ सय ४३ मिलिमिटर वर्षा भएको थियो, बेमौसमी वर्षाले कृषिमा करोडौं क्षति पुर्‍याएको थियो । नेपालमा ६४ प्रतिशत कृषि आकाशेपानीकै भरमा छ । हिउँदमा वर्षा नहुँदा १० प्रतिशतले कृषि उत्पादन घट्न जान्छ भने भीषण वर्षा हुँदा पनि बाली सखाप हुन्छ ।

नेपालले भोग्नुपरेको यो संकटबारे विश्वलाई जानकारी गराउनुपर्ने अहिलेको मूल आवश्यकता हो । विकसित राष्ट्रहरुको हेल्चेक्र्याइ र अत्यधिक कार्वनउत्सर्जनबाट नेपाल जस्ता मुलुकले भोग्नुपरेको समस्या समाधानका लागि क्षतिपूर्ति भराउन यसपटकको सम्मेलनमा प्रष्टरुपमा प्रस्तुत हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *