सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिँदै

११ मंसिर २०८० काठमाडौं । आज छैठौं सामाजिक सुरक्षा दिवस । विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ । हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेट्ने भएको हो ।
गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमाबुवाले पाए सरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । कोषमा आबद्ध भएकाले वार्षिक एक लाखसम्मको औषधि उपचार सुविधा पाउँछन् ।
कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी कोषमा योगदानकर्ताको कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ ।
कोषमा हालसम्म १८ हजार ४ सय ३९ रोजगारदाता सूचीकृत भएका छन् । ९ लाख २८ हजार ४ सय ५३ योगदानकर्ता छन् । २०७९ साल चैत ८ गते वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराइएको थियो ।
अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा कोषमा आवद्ध भएका छन् । गत साउन ३१ गतेदेखि सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको छ । सामाजिक सुरक्षा योजनाको औपचारिक शुरुवात भने २०७५ मंसिर ११ गते भएको थियो ।
प्रतिक्रिया