नक्कली भूटानी शरणार्थी प्रकरणः आज पनि सर्वोच्चमा सुनुवाइ हुँदै
६ मंसिर २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमाथिको सुनुवाइ निरन्तर भइरहेको हो । हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो ।
प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले सुनुवाइ लम्बिने छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन ।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । धरौटीमा छुटेका दुई जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्च अदालत गएको छ ।
पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् ।
खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै छन् । पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।
तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । सबैको निवेदनमा एकैपटक सुनुवाइ हुँदैछ। अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ। उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया