Main News

हरिनारायण रौनियार अब एमालेमा, यस्तो छ एमाले प्रवेश गर्ने विवादित पात्रको सूची (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ६ गते ७:३९
हरिनारायण रौनियार अब एमालेमा, यस्तो छ एमाले प्रवेश गर्ने विवादित पात्रको सूची (भिडियो रिपोर्टसहित)

६ मंसिर २०८० काठमाडौं । जनता समाजवादीका नेता हरिनारायण रौनियारसहितलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार पर्साको पोखरिया पुग्नुभयो । विवादित पृष्ठभूमिका रौनियारलाई स्वागत गर्न ओलीले देखाएको हतारो र चटारोको आलोचना पनि भइरहेको छ । रौनियार पछिल्ला पात्र मात्रै हुन् । एमाले प्रवेश गर्ने विवादीत पात्रहरुको सूची लामै छ ।

नेकपा एमालेमा हिजो–आज विवादित पृष्ठभूमिका व्यक्ति प्रवेश गराउन शीर्षनेताकै दौडधुप देखिने गरेको छ । हालैमात्र कालोसूचिमा परेको पप्पु कन्स्ट्रक्सनसँग सम्बन्धित निर्माण व्यवसायी हरिनारायण रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पार्टीमा स्वागत गर्नुभएको छ ।

रौनियारमात्र होइन, एमाले विवादित पृष्ठभूमिका व्यक्ति प्रवेशको फेहरिस्त लामै छ । एमालेलाई राजनीतिकरुपमा व्यस्थित संगठन र अनुशासित कार्यकर्ता भएको दलका रुपमा विपक्षीले समेत प्रशंसा गर्दै आएका थिए । तर, त्यो मर्मलाई माथ खुवाउने गरी अध्यक्ष ओलीले विवादित व्यक्तिको स्वागतमा रातो कार्पेट ओछ्याउने गर्नुभएको छ । एमालेमा विवादीत पात्रले सहज प्रवेश किन पाईहरेका छन् त ?

संसदको दोस्रो ठूलो दल, गएको आम निर्वाचनमा समग्रमा सबैभन्दा बढी मत पाएको दलमा कार्यकर्ताको मूल्यांकन गरिनुको साटो विवादितलाई अवसर दिन शीर्ष तहको तछाड मछाडले निष्ठाको राजनीति गर्नेहरुको अवमुल्यन भएको टिप्पणी गर्न थालिएको छ ।

हेरौं एमाले प्रवेश गरेका विवादित पात्रहरु ।

हरिनारायण रौनियार
पप्पु कन्ट्रक्सनमा पूर्व अध्यक्ष एवं जसपाका पूर्वसांसद रौनियारको विगत विवादै विवादले भरिएको छ । पाएका ठेक्का अधुरा र अपुरा रहेको भन्दै कालोसूचिमा परेको कन्ट्रक्सनको स्वामित्व भने आफन्तमा हस्तान्तरण गराएका रौनियारको कन्ट्रक्सनविरुद्ध विभिन्न जिल्लामा उजुरी समेत परेको छ ।

मोतिलाल दुगड
सेन्चुरी मसला, दुगड स्पाइसेज, होटल ह्यारिसन लगायतका उद्योग चलाउँदै आएका दुगड अनेक तिकडम गरेर छोटो समयमै राजनीतिमा छलाङ मार्ने पात्र हुन् । दुगडको राजनीतिक यात्रा २०५१ मा स्थापना भएको नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नव नेपाल निर्माण पार्टी गठन गरेका दुगडले २०७४ को निर्वाचनको सम्मुखमा एमालेसँग आफ्नो पार्टी एकता गराउनुभयो । दश करोड चन्दा बुझाएर समानुपातिक सांसद बनेका दुगड अध्यक्ष केपी शर्मा ओलीलाई रिझाएर उद्योग राज्यमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार सम्म बन्न भ्याउनुभयो ।

एकवाल मियाँ
तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँ गत वर्ष एकाएक एमाले प्रवेश गर्नुभयो । लोसपा कार्यकारिणी सदस्य रहेका मियाँ बारा ४ मा एमालेबाट उम्मेदवार पनि बन्नुभयो । तर अवसरका लागि पार्टी फेरेको भन्दै कार्यकर्ता र मतदाताले रुचाएनन् ।

ल्यारक्याल लामा
गुम्बा समितिको अध्यक्ष हुँदा कांग्रेस रहेका ल्यारक्याल लामा पहिलो संविधानसभा सदस्य बन्नका लागि एमाले प्रवेश गर्नुभयो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा अर्थराज्यमन्त्री बन्न सफल लामा हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

दुर्गा प्रसाईं
२०७८ कार्तिक ७ गते औपचारिक रुपमा एमाले प्रवेश गरेका दुर्गा प्रसाईंलाई अध्यक्ष ओलीले आवश्यकभन्दा बढी नै स्पेस दिनुभयो । २०७८ मंसिर २६ गते केन्द्रीय सदस्य मनोनित भएका प्रसाईं अध्यक्ष ओलीको किचन क्याबिनेटमै पुग्न सफल हुनुभयो । ओलीका सबै कार्यक्रममा वक्ता बन्न सफल विवादित व्यापारी प्रसाईंलाई पार्टीमा अधिक अवसर दिईंदा लामो समयसम्म पार्टीलाई जनताबीच जिवन्त पारेका नेताहरु नै विस्थापित हुन पुगे । ओली त्यसैमा रमाइरहनुभयो । तर अहिले प्रसाईं एमालेको सबैभन्दा ठूलो विरोधि बन्दा अहिले अध्यक्ष ओलीलाई नै असहज अवस्था पैदा भएको छ ।

बबन सिंह
पहिलो संविधानसभामा स्वतन्त्र निर्वाचन जितेका बबन सिंह २०७७ पुस १६ मा तत्कालीन नेकपाको ओली समुहमा प्रवेश गर्नुभएको थियो । गत स्थानीय तह निर्वाचनमा रौतहटमा आफ्ना केही कार्यकर्तालाई एमालेबाट उम्मेदवार बनाउन सफल विवादित पष्ठभुमिका सिंह अहिले राजनीतिमा खासै सक्रिय भएको देखिदैन । गौर हत्याकाण्डमा ुवान्टेडु बनेका सिंह २०६४ सालको संविधानसभामा फरार उम्मेदवार बन्दै विजयी हुनुभएको थियो ।

बसरुद्धिन अन्सारी
मेडिकल कलेज व्यवसायी बसरुद्दिन अन्सारी पनि एमाले प्रवेश गर्ने विवादित पात्र मध्ये एक हुन । २०७४ जेठ २९ मा एमाले प्रवेश गरेका अन्सारी अध्यक्ष ओलीसँग राम्रो सम्बन्धलाई गलत काममा प्रयोग गर्न खोजेको कार्यकर्ताले आरोप लगाउने गरेका थिए । हाल पार्टीमै रहेका अन्सारी सक्रियता भने कम छ ।

त्यसो त २०७१ जेठ २१ गते प्रहरीसँगको मुठभेडमा मारिएका दिनेश अधिकारी चरी पनि एमालेको संरक्षित पात्र थिए । धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्वउपाध्यक्षसमेत रहेका अधिकारीलाई ओलीको प्रत्यक्ष संरक्षण रहेको तथ्य लुकाइरहनु पर्दैन ।

बलात्कारको आरोप लागेका पूर्वमन्त्री मोहन बानियाँ हुन् या भतिजिमाथि अनैतिक सम्बन्धको प्रस्ताव राखेको आरोपमा मुद्दा खेपिरहेका सुरत बहादुर शाही, पार्टी न कारबाही गर्यो न स्पष्टिकरण नै । अराजक र अवसरवादीको भिड भित्राउन मरिमेट्ने नेतृत्वले त्यस्ता व्यक्तिको आगमनले पुग्ने क्षतिबारे भने नजरअन्दाज गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *