जलवायु परिवर्तनको असर, मानसिक स्वास्थ्यमा समस्या (भिडियो रिपोर्टसहित)
५ मंसिर २०८० काठमाडौं । जलवायु परिवर्तनको असर मनसुनमा मात्र होइन, मानव जीवनको हरेक पाटोमा देखिन थालेको छ । पछिल्ला समय जलवायु परिवर्तनले स्वास्थ्यमा समेत असर पार्न थालेको छ ।
विभिन्न संक्रामकहरु फैलिन थालेका छन् भने प्रजनन स्वास्थ्यदेखि मानसिक स्वास्थ्यमा समेत समस्या बढेको अध्ययनहरुले देखाएका छन् । औसत तापक्रममा भैरहेको वृद्धिले नेपाल जस्ता देशमा पनि जटिल स्वास्थ्य समस्या देखा परेको विज्ञहरुको भनाइ छ ।
हिमाली भेगमा डेंगु महामारी, केही वर्षदेखि सहजै सुन्न थालिएको छ । तराई भेगमा पाइने लामखुट्टे अहिले हिमाली जिल्लाहरुमा समेत पाइन्छ । यसको एउटै कारण हो, जलवायु परिवर्तनले निम्त्याएको असर । अहिले विश्वव्यापीरुपमै तापक्रम बढ्दै गएको छ । सन् २०५० सम्ममा तापक्रम १ दशमलव ५ सेन्टिग्रेडले बढ्ने अनुमान गरिएको छ ।
जसले हिमाली तथा पहाडी जिल्लाहरुमा तुलनात्मकरुपमा तापक्रम बढ्दै गएको छ । गर्मीभेगमा पाइने लामखुट्टे विस्तारै पहाडी तथा हिमाली जिल्लाहरुमा सहजै बस्न सक्ने भएका छन् । डेंगु, एउटा उदाहरण मात्र हो । जलवायु परिवर्तनबाट तत्कालीन र दीर्घकालीन थुप्रै स्वास्थ्य समस्या देखा पर्न थालेको अध्ययनहरुले पुष्टि गरेका छन् ।
जलवायु परिवर्तनबाट देखिएका स्वास्थ्य समस्या
डेंगुसहित प्राकृतिक प्रकोपबाट उत्पन्न झाडापखाला, हैजा
जलवायु परिवर्तनको दीर्घकालीन स्वास्थ्य समस्या
प्रजनन स्वास्थ्यमा असर
दम्पतीमा बाँझोपनको समस्या
मानसिक स्वास्थ्य समस्या
बालबालिकामा कुपोषण
मिर्गौलासम्बन्धी स्वास्थ्य समस्या
यी शारिरिक तथा मानसिकरुपमा देखिने स्वास्थ्य समस्या भए । यसबाहेक अप्रत्यक्षरुपमा जलवायु परिवर्तनकै कारण कृषि उत्पादनमा आउने ह्रास आउँदा बालबालिका तथा बृद्धबृद्धा लगायतमा कुपोषणको समस्या देखा पर्न सक्ने विज्ञको ठम्याइ छ । यस्तै तापक्रम बढ्दा सुख्खापनले शरीरमा पानीको मात्रा धेरै आवश्यक हुन्छ, पानी सहजै पाउन छाड्छ अनि मानिसले कम पानी पिउँछन् । जसले मृगौला रोगीको संख्या बढ्न सक्छ ।
जलवायु परिवर्तनले गर्दा व्यक्तिको शारिरिक मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गरिरहेको अध्ययनबाट पुष्टि भएको विज्ञको भनाइ छ । आगामी मंसिर १६ गतेदेखि युएईको दुवईमा हुन गइरहेको कोप २८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्दै सहभागी हुँदै हुनु हुन्छ । जलवायु परिवर्तनको कारक बिकसित देश भएकाले नेपाल अति प्रभावित मुलुकमा पर्छ । उक्त सम्मेलनमा नेपालले जलवायु परिवर्तनबाट पुराएको हानी र आफूले पाउने क्षतिपूर्तिका बिषयमा आफ्नो अडान स्पष्ट पार्नु पर्ने विज्ञ बताउँछन् ।
जलवायु परिवर्तनले मानव स्वास्थ्यसँगै पृथ्वीमा पनि असर पुर्याइरहेको हुन्छ । भविष्यमा यसले पुर्याउने क्षति भयावह हुनेसक्ने वैज्ञानिकहरुले चेतावनी दिंदै आएका छन् । कार्वनउत्सर्जनलाई कम गर्दै जलवायु परिवर्तनको असर घटाउनुपर्ने विश्वव्यापी मत बढेको छ । तर, कार्यान्वयनमा ठूला राष्ट्रहरु नै उदासिन देखिएका छन् ।
प्रतिक्रिया