Main News

आम निर्वाचनको वर्ष दिन नबित्दै दलहरुमा मिसन-८४ को भूत किन सवार ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ५ गते ७:१८
आम निर्वाचनको वर्ष दिन नबित्दै दलहरुमा मिसन-८४ को भूत किन सवार ?(भिडियो रिपोर्टसहित)

५ मंसिर २०८० काठमाडौं । आम निर्वाचनको वर्ष दिन नपुग्दै दलहरु ४ वर्षपछि हुने निर्वाचनको तयारीमा जुटेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा त अर्को निर्वाचनका लागि मिसन–८४ अभियानसहित प्रचारमै जुटेको देखिन्छ ।

४ वर्ष कार्यकाल बाँकी रहेको संसदमै प्रभावकारी काम गरेर मतदाताको मन जित्नेमा भन्दा दलहरु नयाँ निर्वाचन आइसकेको आश्चर्जनक रुपमै घरदैलो अभियानमा जुटेका छन् । दलहरुमा नयाँ निर्वाचनको भूत किन सवार भइरहेको छ त ?

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा घरदैलो कार्यक्रममा छ । ुजनकेन्द्रित राजनीतिको आधारः घरदैलोमा जनतालाई आभारु नारा दिएर यो पार्टीका सभापति सहित सांसद र नेताहरु घरघर पुगिरहेका छन् ।

लाग्छ उनीहरुलाई चुनाव लागिसकेको छ । प्रचार हेर्दा २०८४ को चुनावको तयारीमा रास्वपामा जुटिसकेको छ । जनतालाई आभार भन्ने कार्यक्रम बताइए पनि रास्वपा यो अभियानमार्फत पार्टी संगठन विस्तार, सुदृढीकरण र मतदता फकाउने अभियानमा देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पनि अहिलेका मुद्दा भन्दा ०८४ मा हुने निर्वाचनकै पिरलो देखिन्छ । अहिले सके कसरी गठबन्धन भत्काउने र ०८४ को निर्वाचनबाट कसरी पहिलो पार्टी बन्ने भन्ने ध्याउन्नमा एमाले छ । गत वर्षको निर्वाचनलगत्तै समेत मिसन ग्रासरुट अभियान चलाएको एमालेले वैशाखमा भएको उपनिर्वाचनमा उपलब्धि हात लाउन नसकेपछि अहिले फेरि नयाँ अभियान चलाउन लागेको छ । उसले मंसिर १४ गतेबाट ३ हप्ता मध्यपहाडी लोकमार्ग अभियान गर्दैछ । नारामा उसले जे भने पनि पछिल्लो समय खस्किँदै गएको प्रभाव बढाउनमा उसको पूरापूर ध्यान छ ।

प्रमुख प्रतिपक्षी रुपमा सरकारलाई जवाफदेही बनाउने भन्दा कसरी थप शक्ति आर्जन गर्ने भन्नेमै एमाले लाग्दा सत्ताको रजगजमै मस्त सत्तारुढ दल आनन्दमा छन् ।

कांग्रेस पनि भित्रभित्रै नयाँ निर्वाचनकै तयारीमा जुटेको जस्तो देखिन्छ । हालै काठमाडौंको राष्ट्रियसभामा आयोजित एक कार्यक्रममा महामन्त्री गगन थापाले नयाँ निर्वाचन लक्षित अभिव्यक्ति दिँदै अहिले सरकारबाट बाहिरिन र चुनावी सरकारको नेतृत्व गरेर एकलौटी सरकार चलाउन आफ्नो पार्टीका नेताहरुलाई प्रस्ताव गर्नु भएको थियो ।

कांग्रेसले गत साउनमै संगठन सुदृढिकरण अभियान चलाइसकेको छ । माओवादीमा समेत आगामी निर्वाचनको भूत सवार भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति यसैमा केन्द्रित छन् । उहाँले प्रधानमन्त्रीकै रुपमा गरेका भाषणमासमेत माओवादीलाई बहुमत दिन आग्रह गर्न थाल्नु भएको छ । सत्तारुढ होस् वा प्रतिपक्षी सबै दलमा ०८४ को निर्वाचनको भूत किन सवार भइरहेको छ त ?

आम निर्वाचनको एक वर्षसम्म पनि सरकारले उल्लेखनीय काम गरेर देखाउन सकेको छैन । यसैकारण सरकारप्रति निराशा बढ्दो छ । नागरिकमा बढेको निराशाको सम्बोधन गर्ने गरी यही कार्यकालमा काम गर्नेमा भन्दा सबैजसो दलको ध्यान ४(५ वर्षपछिको निर्वाचनमा केन्द्रित हुँदा संसद र सरकारको यो कार्यकाल थप निराशाजनक बन्दै जाने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *