Main News

बिर्सनलायक ! सांसदका हर्कत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ४ गते १७:४४
बिर्सनलायक ! सांसदका हर्कत (भिडियो रिपोर्टसहित)

४ मंसिर २०८० काठमाडौं । आम निर्वाचनको एक वर्ष पूरा भएको छ । योबीचमा जनतालाई ठूला आश्वासन र सपना देखाएर निर्वाचित भएका सांसदहरुले सम्झिनलायक खास काम गर्न सकेनन् ।

कानून निर्माण गर्ने र जनचासोसहित जनजीविकाका मुद्दालाई बुलन्द रुपमा संसदमा उठाएर सरकारलाई दिशा निर्देश गर्ने भूमिकामा रहेका सांसदहरु बरु आफ्नै कतिपय हर्कतका कारण बदनाम बने । मतदाताले ठूलो अपेक्षा र भरोसा राखेर जिताएर पठाएका सांसदले गरेका केही विर्सनलायक हर्कतहरुको यहाँ चर्चा गरिएको छ ।

आम निर्वाचन भएको एक वर्षमा संसदबाट अत्यावश्यक कानून निर्माण र सरकारलाई खबरदारी गर्ने काम संसदबाट हुनुपर्थ्यो । तर नयाँ जोश जाँगरसहित संसद भवन प्रवेश गरेका सांसदहरुको एक वर्षको भूमिका सम्झिनभन्दा विर्सनलायक बढी बन्यो ।

सांसदलाई मौन धारण
संसद बैठक चलाउने जिम्मा अवश्य नै सभामुखको हो । तर नयाँ संसदको तेस्रो बैठक स्वरुप माघ ५ गते बसेको बैठकमा असहज दृष्य देखियो । जनमत पार्टीका सांसद सिके राउतले मधेस आन्दोलनका सहिदलाई श्रद्धाञ्जली दिन भन्दै रोष्ट्रममा उभिएर सबै सांसदलाई मौन धारण गर्न लगाउनुभयो । केही सांसद उठेर मौन धारण गरे पनि, केही अलमलमा परे, केहीले संसदमा नियमविपरित हर्कत भएको भन्दै सञ्चारकर्मीसँग आक्रोश पोखे ।

अमर्यादित अमरेशकुमार सिंह
वैशाख २५ गते बसेको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोल्नुभयो । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णयअनुसार विशेष र आकस्मिक समय कटौती भएको जानकारी गराउनु भएको थियो । त्यसपछि आफूले भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै सिंहले कपडा खोल्नुभयो ।

प्रधानमन्त्री भैँसी चढेर फर्केको आरोप
पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जेठ २२ गतेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट भैँसी चढेर फर्किएको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपाललाई मुर्रा राँगो दिने बताएको थियो । त्यही विषयलाई बंग्याएर रास्वपा सांसद खनालले प्रधानमन्त्रीको अपमान गर्ने गरी भैंसी चढेर आएको अभिव्यक्ति दिएपछि माओवादीले नियमापत्ति गर्यो र उहाँको भनाइ संसदको रेकर्डबाट हटाउन लगाइयो ।

प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापा कुर्लिएपछि…
जेठ २२ गतेको बैठकमा संसदमा उठेको नागरिकता विधेयकसम्बन्धी प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री जुरुक्क उठेर बोल्नुभयो । सामान्यतया प्रधानमन्त्री, मन्त्री वा अरु सांसदले बोलिरहेका बेला नियमापत्ति गर्ने बाहेक अरु विषय बोल्न पाइँदैन । तर सांसद थापाले प्रधानमन्त्रीले झुठो बोलिरहेको आरोप लगाउनुभयो । सभामुखको आग्रहमा थापा त एकछिन रोकिनुभयो, फेरि प्रतिपक्ष र सत्तापक्षका सांसदहरु बाझाबाझमा उत्रिएर डिस्टर्ब गरे ।

खानको अश्लील च्याट
तत्कालीन खानेपानी मन्त्री एवम् जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानको अश्लिल भिडियो च्याट बाहिरियो । आफ्नो पद र जिम्मेवारी भुलेर खानले एक सामाजिक सञ्जालमा युवतीसँग गरेको अश्लिल च्याटको भिडियो सार्वजनिक भएपछि यसको विरोध पनि भयो । तर खानलाई जनमत पार्टीले संरक्षण दिइरहयो, यो घटना लगभग सेलाएर गयो ।

एक–अर्को सांसदलाई डिस्टर्ब
सांसदहरुले गरेको अर्को हर्कत भने एकअर्कालाई बोल्दासमेत डिस्टर्ब गर्नु हो । कतिपय सांसदहरुले अर्को दलका सांसद बोलिरहेका बेला होहल्ला गर्ने, अवरोध गर्ने र नियमावली विपरितका गतिविधि गर्ने कार्य गरिरहे । त्यतिमात्र होइन अधिकांश त बैठकमा सहभागी नहुने, हाजिर लगाएर टाप कस्ने र महत्वपूर्ण विषयमा छलफल तथा विधेयकहरु पारित गर्नुपर्ने समयमै गायब हुने कामले वर्षभरि नै संसद भद्रगोल बन्यो । यस्तै कतिपय अनावश्यक विषयमा संसदमा निरन्तर अवरोध, महत्वपूर्ण विषयलाई पन्छाउने प्रयास र आफू उम्किने दाउमा सक्रिय बनिरहे ।

ठूला दलका नेताहरुले घण्टौं प्रवचन दिन पनि छाडेनन्, त्यसको अग्रपंत्तिमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै रहनुभयो ।
संसद मर्यादित, अनुशासित र व्यवस्थित हुनुपर्छ । यही संसदले बनाउने कानूनले मुलुकलाई कानूनी रुपमा व्यवस्थित गर्ने हो । तर आफ्नै गलत आचरणसमेत सुधार्न नसकेका सांसदले मुलुकलाई सही दिशा निर्देश गर्न कस्तो कानून बनाउलान् ? सम्झिँदा समेत अत्यास लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *