Main News

दुर्गा प्रसाईंको शक्ति कसरी बढ्यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ३ गते २०:५६
दुर्गा प्रसाईंको शक्ति कसरी बढ्यो ? (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । वित्तीय संस्थाका कर्मचारीविरुद्ध दुर्व्यवहार गर्न आह्वान गर्दै अराजक यात्रा सुरु गरेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौंमा प्रदर्शनको तयारी गर्नुभएको छ ।

यसअघि पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलन भन्दै झापादेखि काठमाडौंसम्म विभिन्न कार्यक्रम र प्रदर्शन गरेका प्रसाईले मंसिर ७ गते महाअभियानको नाममा उग्र प्रर्दशनको तयारी गर्नुभएको हो । जसको राजावादीसहित राजसंस्थाका पक्षधर पार्टी राप्रपालगायतले अपनत्व लिइसकेका छन् । अराजक गतिविधिमा केन्द्रित भएका प्रसाईँले कसरी आर्जन गरिरहनु भएको छ, यो शक्ति ?

अहिले दुर्गा प्रसाईंको परिचय नै अराजकतावादी भइसकेको छ । गत वर्षको फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारससहितका व्यक्तिलाई मञ्चमा राखेर प्रसाईंले ऋणको किस्ता उठाउन आउने लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्न उर्दी जारी गर्नुभएको थियो । आफैँ अर्बौं ऋणको भारले थिचिएका प्रसाईले २० लाखसम्मको ऋण मिनाह हुनुपर्छ भन्ने अभियान चलाएर ऋणमा परेका व्यक्तिहरुलाई अराजक बन्न उक्साउनु भएको थियो ।

जसको परिणाम १६ दिनमै जाजरकोटमा देखिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा एक लघुवित्तका कर्मचारीमाथि मोसो दलेर दुर्व्यवहार भएको थियो । घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि यस्तो कार्यका लागि दुरुत्साहन गरिरहेका प्रसाईंलाई कारबाही गर्नुको सट्टा थप सुरक्षा दिइरहेको छ ।

त्यसयता कतिपयको व्यक्तिगत र संस्थागत जीवनमा धावा बोलिरहेका प्रसाईं अहिले सरकारको कामबाट असन्तुष्ट भएकाहरुलाई उचालेर व्यवस्था नै उल्ट्याउने घातक खेलको नेतृत्व गरिरहनु भएको छ । यसैको नयाँ संस्करण स्वरुप मंसिर ७ गते प्रसाईँकै नेतृत्वमा काठमाडौंमा प्रदर्शनको तय भएको छ । यद्यपि यो कार्यक्रममाथि प्रशासनले रोक लगाउन सक्ने थुप्रै बाहना तयार भइसकेका छन् ।

अराजक गतिविधिमा संलग्न भएर पनि प्रशासनको नजरअन्दाजमा परिरहेका प्रसाईसँग वित्तिय संस्थाबाट ऋण लिएर नतिर्ने, अवैध काममा संलग्न र दुराचारको आरोप खेपीरहेकाहरुको जमात जम्मा भइरहेको छ । त्यसो त प्रसाई अचानक यो शक्तिमा पुग्नु भएको भने होइन ।

विगतमा बैंकहरुबाट ठूलो परिमाणमा ऋण लिएर सोही पैसाबाट राजनीतिक दल र तीनका प्रभावशाली नेताहरुलाई प्रभावमा पार्न सफल भएका प्रसाई अहिले आफूलाई संरक्षण दिएका तीनै पार्टी र नेताविरुद्ध कुर्लिइरहनु भएको छ । उहाँलाई ७ अर्ब ऋण रहेको छ । पैसाका लागि प्रसाईं जुन हदसम्म जाने गरेको उहाँकै विगतले देखाएको छ । सुरुमा माओवादी सशस्त्र द्वन्द्वमा माओवादी बनेर प्रसाईंले रकम चलाएको आरोप लाग्दै आएको थियो ।

पछि एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा आएपछि हजुरबुबा भन्दै एमाले भनेका प्रसाईं शक्तिकै वरिपरी रहनुभयो । २०७४ सालको आम निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं त्यसयता निरन्तर चर्चा र विवादमा हुनुहुन्छ ।

त्यसअघि माओवादी पृष्ठभूमिको एक व्यवसायीको परिचयमा सीमित प्रसाईं ओली र प्रचण्डलाई काठमाडौंस्थित घरमा बोलाएर कथित मध्यस्थकर्ता बनेपछि निरन्तर शक्तिको आडमा रहनुभयो । नेकपा विभाजनपछि एमालेमै रहेका प्रसाई केन्द्रीय सदस्य पदसमेत पड्काउन सफल हुनुभयो । आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन र मेडिकल शिक्षाको विकृतिविरुद्ध डा। गोविन्द केसीले गर्ने अनशन दबाउन सक्रिय रहँदा राजनीतिक दलको राम्रै साथ पाएका प्रसाईं पछिल्लो समय यही गतिमा ठूलै राजनीतिक हैसियत प्राप्त गर्न नसक्ने देखेपछि पूर्वराजाको दौराको फेरो समातेर आफ्ना पूर्व संरक्षणकर्ताहरुको सुरवाल फोहोर बनाइदिन उद्धत हुनुभयो ।

त्यसको परिणाम आफूलाई पहिले बा र त्यसपछि हजुरबाको साइनो लगाएका प्रसाईंको प्रदर्शनलाई प्रतिवाद गर्न एमाले अध्यक्ष ओलीले नै कार्यकर्ता सडकमा उतार्ने निर्णय गरिसक्नु भएको छ ।

तर यस निर्णयले प्रसाईंमा थप उग्रत जाग्ने जोखिमसमेत बढाएको छ ।
खैर प्रसाईंले समातिरहेको अराजकतावाद मुलुकको लोकतन्त्र र संविधानवादको खिलाप छ । यस्तोमा सरकार उनैसँग डराएर यस्तो गतिविधिलाई शान्तिपूर्णरुपमा भेला हुने संवैधानिक अधिकारकै कोटीमा राख्छ भने प्रसाईंको अराजकताले मुलुकलाई थप प्रतिगमनतिर लैजान चाहनेका लागि सहज बाटो तयार हुँदै जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *