कोशीको सभामुखमा राप्रपाको दाउ (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० मोरङ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकारले विश्वासको मत पाएसँगै राजनीतिक अस्थिरता अन्त्य भएको कोशी प्रदेशमा अब रिक्त रहेको सभामुख पदका लागि दलहरुको नजर पर्न थालेको छ ।
केही महिना अगाडिसम्म एक–अर्काले छोड्दै आएको सभामुख पद अहिले भने दलहरुको प्रतिष्ठा बन्दै गएको छ । उपसभामुख एमालेबाट भइसक्दा पनि एमाले भने सभामुख आफूले पाउनुपर्ने दावी गरिरहेको छ भने राप्रपा पनि यो पद हत्याउन लागिपरेको छ ।
कोशी प्रदेशमा अहिले सभामुख पदका लागि लबिङ चलिरहेको छ । विपक्षी बेञ्चमा बस्दै आएका दुई दल सभामुख पद हत्याउन लबिइङ् गरिरहेका छन् । जनताको आवाज उठ्ने प्रमुख थलोको रुपमा रहेको कोशी प्रदेश सभामा गत साउन १६ गतेदेखि सभामुख पद रिक्त छ । उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालनको जिम्मेवारी त्यसयता निरन्तर सम्हाल्दै आउनुभएको छ ।
२०७९ पौष २८ गते निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले सरकारलाई बहुमत पुर्याइदिन पदबाट राजीनामा दिएपछि प्रदेशसभाले अर्को सभामुख पाउन सकेको छैन । सभामुख चयनको विषयले सदनमा प्रवेश पाएसँगै नेकपा एमालेले उक्त पदमा दाबीका लागि आन्तरिक तथा बाह्य लबिङ सुरु गरेको छ । सत्ता पक्षबाट एकाएक प्रतिपक्षको बेन्चमा पुगेको एमालले उपसभामुख पद छाडेर भएपनि सभामुख पद आफूहरुले नै पाउनु पर्ने दाबी गर्न थालेको छ ।
एमालेले सभामुख पद दाबी गरेपनि सत्ता गठबन्धनमा आवद्ध भएका दल भने नेकपा एमालेलाई सभामुख पद दिन तयार भइसकेका छैनन् । नेकपा एमालेले यसअघि संसदमा देखाएको व्यवहारबाट उनीहरु सशंकित छन् । स्पष्ट बहुमतको सरकार गठन भएको समयमा दलीय प्रभावमा पारेर जिम्मेवार पदाधिकारी तथा जेष्ठ सदस्यहरुलाई अनुपस्थित गराएर कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकार ढालेको बुझाइले गठबन्धन दल एमालेलाई सभामुख पद दिने विषयमा सशंकित बनेको हो । बरु सत्ताबाहिर रहेको राप्रपालाई सभामुख दिएर सरकारमा ल्याउने रणनीतिमा सत्ता गठबन्धन देखिएको छ ।
यसअघि नै सत्ता गठबन्धनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरी राप्रपालाई सभामुख पद दिने सहमति भएको थियो । त्यसैले अहिले राप्रपा सोही सहमति अनुसार नै सभामुख पाउनुपर्ने दावी गरिरहेको छ ।
दलहरुको आ(आफ्नो दाबी कायम रहँदा सर्वसम्मतको सम्भावना कम देखिन्छ । निर्वाचन भए सभामुख उम्मेदवारको पक्षमा बहुमत पुर्याउनुपर्छ । ९३ सदस्य रहेको कोशी प्रदेशसभाको बहुमत भनेको ४७ मत हुन आउँछ ।
यतिवेला एमालेसँग ४० मत छ । अन्य दलको साथविना एमालेको सभामुख असम्भव हुन्छ । अर्को आकांक्षी राप्रपाको ६ मत मात्र छ । उसलाई सत्ता गठबन्धनका ४७ सांसदको समर्थन रहे राप्रपाका लागि सभामुख सम्भव छ । उता सत्ता गठबन्धनभित्रैबाट सभामुख छान्ने अवस्था आए मुख्यमन्त्रीको निर्वाचन जस्तो सभाको अध्यक्षता गर्न उपसभामुख वा ज्येष्ठ सदस्य नै नपाउने अवस्था आउन सक्छ ।
प्रतिक्रिया