Main News

एमालेको सत्ता दाउ : कठिन नयाँ समीकरण, उपेन्द्र यादवमाथि नयाँ कार्ड ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ३ गते ७:३४
एमालेको सत्ता दाउ : कठिन नयाँ समीकरण, उपेन्द्र यादवमाथि नयाँ कार्ड ! (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको बहस बेला बेलामा भइरहेको छ । सत्ता गठबन्धनमा किचलो हुँदा एमाले त्यसमा खेल्न प्रयासरत छ ।

केही समय पहिला कांग्रेस नेता शेखर कोइरालाबाट गठबन्धन भत्काउने प्रयास गरेको एमालेले अहिले त्यो कार्ड उपेन्द्र यादवमाथि प्रयोग गरेको दाबी गरिएको छ । दुवै दल सत्ता फेर्न कुनै छलफल नभएको बताउँछन् तर एमाले सत्ता गठबन्धनको औचित्य नरहेको दाबी छ ।

(यो गठबन्धन पाँचै वर्ष जान्छ । कसैले हल्लाएर हल्लिँदैन’ प्रधानमन्त्रीले भने, ‘मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्रको युनिटी धेरै बलियो छ । प्रधानमन्त्रीमा एक महिना पनि टिक्दैन भन्नेहरु रहेको …।)

शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पताल उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको एकता धेरै बलियो भएको दाबी गर्दै हुनुहुन्थ्यो । आफूलाई एक महिना पनि जाँदैन भन्नेहरू रहेको भन्दै प्रचण्डले राम्रो काम गर्दा ११ महिनासम्म सहजै बितेको र पाँचै वर्ष गठबन्धन जाने दाबी गरिरहनु भएको छ ।

तिहारपछि सरकारको समीकरण फेरिने चर्चा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले गठबन्धन बलियो रहेको दाबी गरिरहनुले शंका गर्नेहरुलाई ठाउँ दिएको छ । हुन पनि केही दिन पहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोप्य रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका खबर बहिरिएका छन् । यो भेटमा एमाले अध्यक्ष ओलीले यादवलाई प्रधानमन्त्री ‘अफर’ गरेको दाबी छ ।

सुरुमा आफैंले बनाएका प्रधानमन्त्री प्रचण्ड आफ्नो पकड बाहिर गएपछि एमालेले बिकल्प खोजिरहेकै छ । एमाले हरहालतमा सत्ता गठबन्धन भत्काउने प्रयासमा छ । गठबन्धन भत्काउन कोशीमा कांग्रेस नेता शेखर कोइराला कार्ड खेलेको एमाले त्यसमा असफल भएपछि अहिले जसपा कार्ड परीक्षण गर्न लागिपरेको छ ।

यसअघि कोइरालालाई प्रधानमन्त्री अफर गरेको एमाले अहिले जसपा अध्यक्ष यादवसँग पुगेको चर्चा छ । तर एमाले नेताहरु यादवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्वीकारी हाल्दैनन् । तर कामै गर्न नसक्ने प्रधानमन्त्री र सरकारको विकल्प खोज्नुपर्ने बताउँछन् ।

माओवादी केन्द्र नेतृत्वको सरकारले गौर हत्याकाण्डको फाइल खोलेको र मन्त्रिपरिषद्‍मा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सामेल गरेको विषय यादवलाई चित्त बुझेको छैन ।

यसले प्रचण्ड र यादवलाई टाढा पुर्‍याएको ठानिन्छ । २०७९ को आमनिर्वाचनमा एमालेसँग तालमेल गरेको जसपाले चुनावपछि पनि एमालेसँगै रहने बाचा गरेको थियो । तर अवस्था त्यस्तो रहेन । उसले कांग्रेससँग सत्ता साझेदारी गर्‍यो । अहिलेको सरकारसँग सामान्य बेमेल भए पनि सत्ता फेर्न हतारोमा नरहेको जसपा नेता बताउँछन् । जसपा आफूहरु सरकारको राम्रा काममा समर्थन र नराम्रा काममा विरोध गर्ने गरेको भन्दै त्यसलाई सरकारमा रहने विषयसँग जोडेर नहेर्न आग्रह गर्छ ।

तर, एमालेको सत्ता भत्काउने प्रयास र जसपा अध्यक्ष यादवको अवसरवादी चरित्रले भने कतै नेताहरु गर्ने एक भन्ने अर्कै त गरिरहेका छैनन्, प्रश्न उठ्छ । किनकी सरकारमा उचित ठाउँ पाउँदा यादवले सबै भुलेर सरकारमा सहभागी भएको अघिल्ला उदाहरण छन् । अनि एमाले पनि सत्ताको असन्तुष्टिमा खेल्न महिर छ । तर, संसदीय अंक गणितले भने नयाँ सत्ता समीकरण तयार पर्न सजिलो छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *