टिकटक बन्द भएपछि भीपीएनबाट चलाउने बढे (भिडियो रिपोर्टसहित)

२ मंसिर २०८० काठमाडौं । समाजिक सद्भावमा खलल पुर्याएको भन्दै सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर टिकटक बन्द गरेपनि यसको प्रयोग घटेको छैन । बरु भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्कको प्रयोग गरेर टिकटक बनाउने र चलाउने बढेका छन् ।
साइबर ब्यूरोका अनुसार टिकटक प्रतिबन्ध लगाएयता भीपीएन प्रयोग गर्नेको संख्या १ लाख ७० हजार पुगेको छ । तर यो गैरकानूनी मात्र नभई असुरक्षित पनि हो । भीपीएनको प्रयोगबाट डाटा लिक हुने सम्भावना उच्च हुने मात्र नभई यसले साइबर अपराधलाई थप प्रश्रय दिने विज्ञ बताउँछन् ।
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको दिनदेखि नै प्रयोगकर्ताले यसलाई चलाउने चोर बाटो अपनाउन थालेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडरले टिकटकलाई चलाउन नमिल्ने बनाएको बताएपनि अझै यो सञ्चालन भइरहेको छ । तर, अधिकांशले यो एप चलाउन भीपीएन प्रयोग गरिरहेका छन् ।
चर्चित टिकटकरहरु भीपीएन चलाएरै भएपनि कन्टेन्ट बनाइरहेका छन्, लाइभ बसिरहेका छन्, अनि गिफ्ट मागिरहेका छन् । अझ कतिपयले त भीपीएन चलाएर टिकटक बनाउने र कसरी चलाउने भनेर सिकाइरेहका छन् । तर, जुन बाटो प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्, त्यो आफैमा असुरक्षित छ भने झन् साइबर अपराधलाई निमन्त्रणा दिइरहेका छन् । सुरुमा बुझौँ के हो भीपीएन भनेको ?
के हो भीपीएन ?
परिचय गोप्य राखेर इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि नै भीपीएन हो । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । कुनै भीपीएन निःशुल्क त कुनै किनेर प्रयोग गर्न सकिन्छ ।
प्रयोगकर्ताले आफूले चाहेको वेबसाइट इन्टरनेट प्रदायकले बन्द गरेपनि निर्बाध प्रयोग गर्न सकिन्छ । सामान्यतया अनलाइन हुँदा प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छ। तर भीपीएनले अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा परिचय गोप्य रहन्छ ।
कति सुरक्षित ?
भीपीएनको प्रयोग गर्दा चलाइरहेको नेटवर्कबाट चलाउनेको परिचय गोप्य त हुन्छ । तर, यसको टनेलबाट कुनै एपमा भीपीएन चल्दा विभिन्न डाटा असुरक्षित हुन जान्छ । भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका चाहिँ होइन ।
यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ । मोबाइलका एपमा अनुमति दिँदा कतिपय व्यक्तित डाटा भीपएन कोडसँगै बाहिरिन्छन् । अहिले टिकटक चलाउने लहडमा सुरक्षित भीपीएन कुन हो भन्ने भेउ नपाएकाहरू बढी असुरक्षित हुने सम्भावना छ ।
के छन् जोखिम ?
अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुन्छ । ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र इमेलमा ह्याकरले पहुँच पुर् याउन सक्छन् । र डाटा चोरी हुन सक्छ । अहिले देखिएको साइबर अपराध थप मौलाउँदै जाने जोखिम हुन्छ । भीपीएनले सही लोकेसन हटाएर गोप्य राख्ने हुँदा भविष्यमा कुनै समस्या परेमा भीपीएनका कारण साइबर ब्यूरोलाई समाधान गर्न मुस्किल पर्छ । उदाहरणका लागि भीपीएन प्रयोगकर्ताको मोबाइल चोरी भएको खण्डमा यसको लोकेसन ट्र्याक गर्न गाह्रो हुन्छ ।
यसबारेमा राम्रो जानकारी भएकाले प्रयोग गर्दा त्यति समस्या नदेखिएपनि सरकारले गरेको प्रतिबन्धको आक्रोशमा लहडका भरमा भीपीएन प्रयोग गरेर टिकटक चलाउनु भनेको जानाजान जोखिम निम्त्याउनु हो ।
प्रतिक्रिया