एमाले अभियानको तयारीमा, बल्झियो ‘मलेठ’को याद ! (भिडियो रिपोर्टसहित)
२ मंसिर २०८० काठमाडौं । नेकपा एमालेले मंसिर १४ गते मध्यपहाडी लोकमार्ग लक्षित अभियान शुरु गर्दैछ। पहाडी भूभागमा केन्द्रीत एमालेको तीन हप्ता लामो अभियानले पूर्वसन्ध्यामा मलेठ घटना सम्झाएको छ । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचान पक्षधर एमालेविरुद्ध आन्दोलनमा छन् । र एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा अवरोधरहित होस् भन्ने उसको चाहना छ ।
गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश प्रदेश सभाबाट पारित भयो । नेकपा एमालेबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीको प्रस्तावमा तत्कालिन प्रमुख विपक्षी दल नेपाली कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेपछि कोशी प्रदेशको नाममा दुई तिहाई बहुमत पुगेको हो ।
त्यत्तिबेला नेकपा एकीकृत समाजवादी प्रस्तावको विपक्षमा रह्यो । पक्षमा मतदान गर्ने दल र नेताहरु नै अहिले विरोधमा उत्रिएका छन । पहिचान पक्षधरले एमाले सचिव योगेश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङ पस्न नदिनेदेखि अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशमा जाँदा ढुंगा बर्साए ।
अहिले पनि पहिचानवादी भनिएकाहरु एमालेविरुद्ध खनिइरहेका छन । यहिबेला एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान गर्दैछ । जसले २०७३ मा भएको मलेठ घटना सम्झाइदिएको छ । त्यो बेला मधेस एमालेप्रति रुष्ट थियो भने अहिले कोशी प्रदेशका पहिचानवादी । त्यसैले मुडभेटको आशंका गरिएको छ । आफूहरु त्यसबारे सजग रहेको भन्दै सरकारले पनि अभियानमा सुरक्षा दिन चासो देखाउनु पर्ने एमालेको धारणा छ ।
अहिलेभन्दा ७ वर्ष पहिलो २०७३ साल फागुन २३ गते नेकपा एमालेले मेची महाकाली अभियान गरेको थियो । अभियानकै क्रममा एमालेले सप्तरीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम राखेपछि तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो ।
सुरक्षाकर्मीको बाक्लो तैनाथिकाबीच एमालेले कार्यक्रम गर्दा प्रदर्शनकारीको ठूलो संख्या मञ्चतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो । यो नै मलेठ घटना हो । अहिले कोशी प्रदेश नामकरणको विषयमा एमालेप्रति आक्रोश बढ्दोछ । अभियानको क्रममा आक्रोश पोखियो भने ? कतै अर्को मलेठ त बन्दैन ? शंका गर्ने ठाउँ छ ।
मंसिर १४ गते बैतडीको जुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले अभियान चलाउँदै छ । यो बेला कोशीमा देखिएको एमालेप्रतिको आक्रोश पुर्वानुमान गर्न कठिन छ ।
प्रतिक्रिया