कोरला नाका वर्षभरि चलाउन चुनाैती (भिडियो रिपोर्टसहित)

२ मंसिर २०८० काठमाडौं । नेपाल र चीनबीच थप व्यापारिक नाका सञ्चालनमा ल्याउन दुई देशबीच भएको सहमतिअन्तर्गत गत कार्तिक २७ बाट मुस्ताङ हुँदै चीनको तिब्बत जोडिने कोरला नाका सञ्चालनमा आएको छ।
यो नाका सञ्चालनमा आएसँगै दुईदेशबीच व्यापारको अर्को ढोका पनि खुलेको छ । नाका खुलेसँगै व्यवसायी उत्साहित भएका छन् । प्रत्येक वर्षको जाडो याममा माथिल्लो मुस्ताङमा मानिसहरूको चहलपहल र गतिविधि कम हुने तातोपानी र रसुवागढी जस्तै गरि बाह्रै महिना सञ्चालनमा भने चुनौती छ ।
आर्थिक वर्ष २०७९–८० मा नेपालले चीनबाट २ खर्ब २२ अर्बको बस्तु आयात र १ अर्ब ७६ करोड रुपैयाँको निर्यात गर्यो। नेपालको कुल व्यापारमा चीनको हिस्सा ७ दशमलव ५२ प्रतिशत छ । पछिल्लो समय चीनसँग हुने अन्तर्राष्ट्रिय व्यापारमा कमि आउन थालेको छ। यसको एउटै कारण दुई देशबीचको कमजोर कनेक्टीभिलाई लिइएको छ।
अहिले चीनसँग मुख्य रुपमा तातोपानी र रसुवा भन्सार नाकाबाट कारोबार हुने गरेकाले कोरला नाकाले अब व्यापारका लागि नयाँ ढोका खोल्ने विश्वास लिइएको छ । दुई पटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिएको यो नाका कार्तिक २७ बाट भने सधैँका लागि खुलेको छ । अब नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि मुस्ताङका दुई वटा स्थानीय तहका एक हजार भन्दा धेरै स्थानीयवासीलाई उक्त नाका हुँदै तिब्बत जान सहज भएको छ । तर चुनौती पनि उत्तिकै छ ।
यो चीनको शिगात्से सहरबाट सबैभन्दा सहज सडक पहुँच भएको नाका भएको यो नाका सञ्चालन हुँदा यहाँबाट सबै किसिमको आयात निर्यात हुने देखिन्छ । यसका लागि नेपालतर्फ स्थायी संरचना र कोरालासम्मको सडक पूर्वाधार राम्रो बनाउन जरुरी छ । उसो त गत असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा चीनले नेपालसँग जोडिएका कोरलासहित १४ वटा नाका खोल्ने जनाएको थियो । ती सबै नाका खोलेर नेपालले चीनसँगको व्यापारिक लाभ लिनुपर्ने जानकार बताउँछन् ।
पहिलो पटक पूर्ण रूपमा सञ्चालनमा आउन लागेको कोरला नाका वर्षभरि सञ्चालनमा ल्याउन भने कठिन छ । प्रत्येक वर्षको जाडो याममा माथिल्लो मुस्ताङमा मानिसहरूको चहलपहल र गतिविधि कम हुने गरेको छ। कोरला नाकाभन्दा १० किलोमिटर वर नेपालतर्फ सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट स्थापना गरिएको भए पनि त्यहाँ जाडो याममा सुरक्षाकर्मी बस्न सक्दैनन्। सुरक्षा पोस्टसँगै रहेको भन्सारका कर्मचारीहरू पनि यसअघि मेलाको समय बाहेक सधैँ जोमसोम बस्ने गरेका थिए। यदि नियमित सञ्चालन गर्ने अवस्था भए पश्चिम नेपालको व्यापारमा नयाँ ढोका खुल्ने विश्वास लिइएको छ ।
कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीलाई एक लाख किलो खाद्यन्न सहयोग गरेका थिए । नुन, चिया, पिठोलगातका खाद्यान्न १५ वटा ट्रकमा पठाएको थियो । सरकारले नाकाबाट फाइदा लिन नसके फेरि नाका बन्द हुने खतरा भने उत्तिकै छ ।
प्रतिक्रिया