नेपाल संवतले मान्यता पाउँदा हर्ष, कार्यान्वयनमा आशंका (भिडियो रिपोर्टसहित)
२८ कात्तिक २०८० काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्ले पटक पटक चर्चामा आउँदै सेलाउँदै गरेको नेपाल संवतलाई मान्यता दिने निर्णय गर्यो । कुनै समय अहिलेको विक्रम संवत् झैं प्रचलनमा रहेको नेपाल संवत् अहिले नेवार समुदायमै सिमित छ।
भारतबाट प्रचलनमा आएको नेपाल संवत्लाई नेपालले आफ्नो राजकाजको संवतका रुपमा आत्मसाथ गरेपछि यसलाई मान्यता दिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो । सरकारले निर्णय गरेर यसलाई प्रचलनमा ल्याउने बताएसँगै फेरि एकपटक नेपाल संवतको प्रभावकारिता र कार्यान्वयनमा आउने चुनौतीबारे बहस सुरु भएको छ ।
शंखधर साख्वाले गरिव किसानहरूको ऋण मोचन गरेपछि नेपाल संवत् सुरु भएको कथन छ। नेपालमण्डलमा यही संवत् प्रचलनमा थियो। पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै कालान्तरमा नेपालमण्डलको अस्तित्व लोप हुँदै गयो। नेपाल संवत् पनि विस्तारै प्रचलनबाट हट्दै गयो। विक्रम संवतले प्रभाव जमाउँदै गयो। सरकारले सोमबार निर्णय गरेसँगै अबदेखि सरकारी कागजातमा पनि यो उल्लेख हुने भएको छ । सरकारको यो निर्णयले नेवार समुदायमा खुसियाली छाएको छ ।
नेपाल संवतबारे कहिले के भयो ?
२०५६ मंसिर ३ गते शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा
२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवतलाई औपचारिक रूपमा राष्ट्रिय संवतको मान्यता दियो
२०६९ सालमा तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टाराईको सरकारले एक समिति गठन गरी ‘आवश्यक कदम लिन’ अनुमति दियो ।
२०६९ साल पुस २९ गते ‘न्हुदँया’लाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिँदै सार्वजनिक विदा दिने घोषणा भयो
२०८० कार्तिक २७ गते सरकारी कागजातमा उल्लेख गर्ने निर्णय
नेपाल संवत् कार्यान्वयन नहुँदा तिथि मितिमा भने विवाद हुँदै आएको छ। नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ुन्हू दँयाु नेपाल सम्वतको पहिलो दिनका रुपमा मनाउँदै आएका छन्। बिहान नेपाल सम्वतको स्वागत गर्दै साँझ ुम्हपूजाु गर्ने परम्परा छ। त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल संवतको दोस्रो दिनमात्रै भाइटीका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने गरिन्छ। तर, केही वर्षदेखि पंचाङ्ग निर्णायक समितिले भने नेपाल संवत र म्हपूजा छुट्टा छुट्टै दिनमा मनाउन भनेर पात्रो निकाल्यो।
जसको नेवार समुदायले प्रतिवाद गर्दै आएका छन्। यस वर्ष पनि जारी विवाद कायमै रह्यो। नेवारहरूले घडी र पलाका आधारमा शुभ साइत निकालेर तय हुने तिथिलाई स्वीकार गर्दैनन्। कुनै पनि पर्व र जात्रामा पनि यो पद्धती लागू हुन्न। सूर्योदयसँगै आउने तिथिका आधारमा पर्व र जात्रा संचालन हुँदै आएकोमा पञ्चाङ्ग समितिले बेलाबेलामा यस्तो फरक व्याख्या गर्दै आएको छ। समितिमा बसेकाहरूले संस्कृति र संस्कार नबुझेकाले केही वर्षको अन्तरालमा यस्तो समस्या बल्झिरहन्छ।
पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिएर निकाल्ने तिथिमिति सहितको पात्रोमा कैयौं संवत्को उल्लेख पाइन्छ । कलिगताब्ध संवतदेखि विभिन्न सम्प्रदायविशेषले मनाउने संवतलाई समेत त्यसमा उल्लेख गरिएको छ । केही जातीय समुदायका आफ्नै संवत् पनि प्रचलन छ । तर सरकारले निर्णय गरेसँगै नेवार समुदायमा खुसी छाएपनि यो कागजमा उल्लेख गर्नेमै सीमित होला वा यसलाई प्रभावकारी ढंगले अघि बढाइएला भन्ने प्रश्न भने उब्जिएको छ ।
प्रतिक्रिया