Main News

चन्द्रागिरी–चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २८ गते ७:२५
चन्द्रागिरी–चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०८० काठमाडौं । मकवानपुरको चन्द्रागिरी–चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौं नजिकै प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भएपछि पर्यटकको आकर्षण बढेको हो ।

शाहसिक पर्यटनका लागि पोखरा र आसपासको क्षेत्र देशभित्र मात्रै नभएर देश बाहिर पनि प्रख्यात छ । प्याराग्लाइडिङ, बन्जीजम्प लगायत शाहसिक पर्यटनका लागि पोखरा पुग्ने पर्ने बाध्यता अब हटेको छ । अहिले काठमाडौं नजिकै चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

हाइ अटिच्यूड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले चन्द्रागिरीबाट उडान भएर चित्लाङमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । २३ सय मिटरको उचाइमा रहेको चन्द्रागिरीबाट शुरू हुने उडानले आकासमा सय मिटरसम्म उचाइ लिन्छ । सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ ।

उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने प्याराग्लाइडिङ सञ्चालकको भनाइ छ । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । प्याराग्लाइडिङ शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई ७ हजार २ सयदेखि ८ हजार रुपैयाँ लाग्छ । विदेशी नागरिकलाई हाललाई १२ हजार तोकिएको छ । प्याराग्लाइडिङ गर्न पुगेकाहरु पनि सन्तुष्ट भएर फर्किएका छन ।

चन्द्रागिरीमा केबलकार बनेपछि भालेश्वर मन्दिर दर्शनका साथै काठमाडौं उपत्यकाको दृश्य हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । यसमा प्याराग्लाइडिङले पर्यटकलाई थप आकर्षित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *