Main News

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम : म्याद सकिनै लाग्दा २५ प्रतिशत निर्माण प्रगति (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २८ गते ७:२३
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम  : म्याद सकिनै लाग्दा २५ प्रतिशत निर्माण प्रगति (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०८० काठमाडौं । पर्यटकीय नगरी पोखरालाई सौन्दर्यकरण गर्ने आयोजना अन्तरगत अहिले विद्युतीय तार भूमिगत गर्ने काम चलिरहेको छ ।

योजना सौन्दर्यकरणको रहेपनि कार्य प्रगति भने म्याद सकिनै लाग्दा भर्खर मात्रै ठेकेदार तातिएका छन् । दुई वर्षमा ३६ किलोमिटर सडकमा तार भूमिगत गर्न भारतीय कम्पनीले ठेक्का पाएको थियो । तर अहिलेसम्म बल्ल २५ प्रतिशत निर्माण प्रगति भएको छ ।

पोखरा महानगरपालिका–१० कुँडहरचोकमा रहेको सबस्टेसनदेखि सेती नदी पुलसम्म र लेकसाइडका केही गल्लीमा पहिलो चरणमा पाइप विछ्याउने काम सुस्त गतिमा भइरहेको छ । विद्युत तार भूमिगत गर्ने योजनाको आधा पनि काम नसक्दै म्याद सकिने पक्कापक्की जस्तै छ ।

२०७८ माघमा योजनाको ठेक्का पाएको भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का सम्झौता भएको १५ महिनापछि मात्रै आयोजनाको काम सुरु गरेको थियो । दुई वर्षको म्याद माघमा सकिनै लाग्दा कार्तिक मसान्तमा २५ प्रतिशत मात्रै काम सकिएको छ । ठेकेदारले इञ्जिनियरिङ, डिजाइन लगायत आवश्यक यन्त्र उपकरण र जनशक्ति व्यवस्थापनमा समय खर्चेकाले आयोजनाको काम पछाडि धकेलिएको आयोजनाको जवाफ छ ।

पोखराको भौगर्भिक अवस्था, पोखरा–मुग्लीन बन्दै गरेको सडकको अवस्था आयोजना काम ढिलो हुनुका बाहाना बन्दै आएका छन् । पृथ्वीचोकबाट जिरो किलोमिटरसम्मको मुख्य राजमार्ग, जिरो किलोमिटरबाट विद्युत प्राधिकरण वितरण केन्द्र मालेपाटनसम्म, सृजना चोकदेखि राष्ट्र बैंक चोक, सभागृहचोक देखि न्यूरोड हुँदै चिप्लेढुङगा र लेकसाइड क्षेत्रमा तार भूमिगत गरिने छ ।

पोखराका अत्यन्त व्यस्त ट्राफिक हुने सडक भएकाले पनि अहिलेकै जस्तो कमजोर व्यवस्थापनले कामलाई तिब्रता दिन सक्ने अवस्था देखिदैन । पाईप विछ्याउनका लागि सुरुङ खन्नका लागि आधुनिक प्रविधिको चारवटा मेसिन ल्याउने प्रतिवद्धता गरेको ठेकेदारले दुइवटा मात्रै मेसिन भित्राएको छ । तर, ठेकेदारको सुस्त गतिको कामले आयोजनाको काम लम्बिने र बजार अस्तव्यस्त हुने जोखिम बढेको भन्दै महानगरले आयोजनालाई तिब्र गतिमा अघि बढाउन ताकेता गरिहेको छ ।

निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नरहेको बताउदै आयोजनाले थप मेसिन ल्याउन ताकेता गरिहेको जनाएको छ । तर, ठेकेदारले बोले अनुसार काम नगरेको आयोजनाले नै स्वीकार गर्छ । एक वषको म्याद थप गरेर काम सम्पन्न गर्ने नेपाल विधुत प्राधिकरणको तयारी छ ।

आयोजना सम्पन्न हुदाँ विद्युत् लाइनसँगै टेलिफोन, केबल र अप्टिकल फाइबर साथै निजी र सरकारी दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *