कर्णाली चिसापानी जलविद्युत आयोजना सरकार आफैंले बनाउने, २२ खर्ब लाग्ने अनुमान (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०८० काठमाडौं । जलविद्युत आयोजनामा हालसम्मकै ठूलो कर्णाली चिसापानी जलविद्युत आयोजना नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ। अध्ययन भएको ५७ वर्षपछि सरकारले यो आयोजना अघि बढाउने निर्णय गरेसँगै नेपालको निर्माण क्षमता र स्रोतको व्यवस्थापन कसरी गर्छ भन्नेबारे प्रश्न उब्जिएको छ।
सरकारले कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना निर्माणको तयारी थाल्ने भएको छ । यो आयोजना पूरा भए दक्षिण एसियाकै लागि गेम चेञ्जर परियोजना हुने अध्ययनहरुले देखाएको छ । १० हजार ८ सय मेगावाट विद्युत उत्पादनको अनुमान गरिएको यो आयोजनाबारे ६ वटा कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेका छन् । तर, यो परियोजना खर्चिलो हुनेछ । पछिल्लो अध्ययन नभएपनि २२ खर्ब रकम लाग्ने र २ लाख नागरिक विस्थापित हुने पछिल्लो अनुमान रहेको छ ।
कहिले– के भयो ?
सन् १९६६ –कर्णाली चिसापानी आयोजनाको पहिलो अध्ययन
सन् १९६८ मा स्मेक र सन् १९७६ मा नर कन्सल्ट लगायतका समूहबाट अध्ययन
सन् १९८९ मा अमेरिकाको परामर्शदाता कम्पनीबाट पनि सम्भाव्यता अध्ययन
सन् २०१७ मा सार्क उर्जा केन्द्रबाट कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाबारे अध्ययन समिति गठन
यी अध्ययनहरुको ६ दशकपछि सरकारले १० हजार ८ सय मेगावाटको उक्त आयोजना निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यसका लागि सरकारले आफ्नै स्रोतमा नेपाल विद्युत प्राधिकरणमार्फत आयोजनाको अध्यावधिक अध्ययन गराउने भनेको छ ।
यो पहिलो पटक भने होइन, २०७५ बैशाख २५ गते उर्जा मन्त्रालयले आफ्नो स्वेतपत्रमा ५ वर्षभित्र कर्णाली–चिसापानी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन एवं वित्तीय व्यवस्था र विकास मोडालिटी तयार गरी निर्माण अघि बढाइने उल्लेख गरेको थियो ।
पुराना सम्भाव्यता अध्ययनका आधारमा त्यो समयमा यो आयोजनाको लागत ५ खर्ब रुपैयाँ र ६० हजार विस्थापित हुने अनुमान गरिएको थियो । तर अब प्राधिकरणको अध्ययनले आयोजनाको लागत, उत्पादन, लाभ, विस्तापित हुने संख्या लगायत विभिन्न पक्षको अध्ययन गरेपछि लगानी र निर्माणको मोडल तय गरिने छ । सरकारले उर्जा विकासको मार्गचित्र तथा कार्ययोजना बनाएको छ । उक्त योजनामा सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको हो । सोही कारण सरकारले यो आयोजना अघि बढाउने रुची देखाएको हो ।
मुलुकको आर्थिक विकास यस्ता आयोजना निर्माण गर्नै पर्ने भएपनि स्रोत र साधानले नधान्ने भएकाले त्यहाँ लगानी गर्ने रकम अन्य साना आयोजनाहरुमा गर्नुपर्ने विज्ञको सुझाव छ । यसलाई बहुउदे्दश्यीय आयोजनाकै रुपमा अघि बढाउन सकिने भएकाले तत्काल विद्युतमा आत्मनिर्भर हुने र कम लगानी लाग्ने क्षेत्रमा सरकारी स्रोत परिचालन गर्न सुझाव छ ।
उसो त कर्णाली चिसापानीलाई विद्युतसँगै सिँचाइ, बाढी नियन्त्रण लगायतका समस्या समाधान गर्नेगरी बनाउन सकिने विभिन्न अध्ययनले देखाएको छ । अहिलेसम्म विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना चीनको थ्री गोर्जेज हो । उक्त आयोजना ९ वर्षमा पूरा भएको थियो । यही आयोजनाले चीनको चौतर्फी विकासमा सघाउ पुर्एकाले कर्णाली चिसापानीलाई पनि नेपालको यस्तै गेम चेञ्जर आयोजनाको रुपमा हेरिदै आइएको छ।
प्रतिक्रिया