Main News

आज महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०८० कार्तिक २६ गते १२:५९
आज महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

२६ कात्तिक २०८० काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आज देवकोटाको सम्मानमा विभिन्न साहित्यिक कार्यक्रम हुँदै छन् । महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ ।

यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भएको छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

२०१६ सालमा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो । वर्तमान प्रज्ञा प्रतिष्ठानको स्थापनामा देवकोटाको विशेष योगदान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *