चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात (भिडियो रिपोर्टसहित)
२५ कात्तिक २०८० काठमाडौं । नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादन भएका फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ ।
तिहारको समयमा नेपाली मूलका नागरिक बसोवास गर्ने देशरस्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ । यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात गरिएको छ ।
कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले फूल र मखमली माला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाएका छन् । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसानको दावी छ ।
आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला र सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात भएको छ । चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो । निर्यात गरिएको फूलको राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने तयारी गरिएको छ ।
भारतीय फूलले नेपाली बजारमा गरेको हस्तक्षेपकै कारण फूलको कारोबार के हुने भन्ने चिन्ता भइरहेका बेला हङकङ निर्यातले राहत दिने विश्वास लिइएको छ । फूल खेतीबाट आम्दानीको ५० प्रतिशत नाफा हुने गरेको छ। गत वर्ष फूल बिक्री गरेर १० लाख रुपैयाँ आम्दानी गरेको फार्मले जनाएको छ ।
यस वर्ष करिब १५ कट्ठा बढी जमिनमा फूल खेती गरेकाले नाफा पनि थपिने विश्वास लिइएको छ । यसैबीच नगरपालिकाले फूल खेतीबाट नगरपालिका समृद्ध बन्ने दावी गरेको छ । कृषि शाखाबाट अनुदानको ब्यवस्था गरेर बाझो जमिनमा फूलखेती प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।
गतवर्ष ७ हजारवटा माला र ५ क्वीन्टल खुद्रा फूल बिक्री भएको थियो भने यस वर्ष १२ हजारवटा माला र १० क्वीन्टल फूल बेच्ने लक्ष्य लिइएको छ । विदेश निर्यात सुरु भएपनि यस वर्ष उत्पादनले पुग्ने अपेक्षा गरिएको छ ।
चितवनमा यो पटक चार लाख फूलको माला माग हुने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । चितनवमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । र यस वर्ष एउटा मालाको एक सय र खुला फूलको मूल्य ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
प्रतिक्रिया