भूकम्प प्रभावित क्षेत्रबाट फर्केर कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण

२५ कात्तिक २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर मसान्तभित्र भूकम्प प्रभावितका लागि अस्थायी टरहा निर्माण गरिसक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रबाट आज काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्रीलाई बालुवाटरमा भेटेरै जरुरी सुझावसहितको ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।
जसमा राहत वितरणका लागि स्थानीय सरकारको नेतृत्वमा सर्वदलीय समिति गठन गर्न, अस्थायी आवास निर्माण कार्य युद्धस्तरमा गरि मंसिर मसान्तसम्म सबैका लागि आवास निर्माण गरिसक्न र पभावित परिवारलाई न्यूनतम ४० हजारका दरले उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै, संसद विकास कोषका नाममा रहेको ८ अर्ब रुपैया भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाउन पनि उहाँहरको माग छ ।
त्यस्तै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा १ हजार अस्थायी घरटहरा बनाउने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले घर निर्माण कार्य प्रारम्भ भइसकेको पनि बताउनुभयो ।
त्यस्तै, महामनत्री थापा र शर्माले भूकम्पका कारण विद्यालय र स्वास्थ्यचौकीमा परेको समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ।
भूकम्पका कारण व्यवसायमा असर परेको भन्दै प्रभावित क्षेत्रमा सहज बैंकिङ ऋणको व्यवस्था गर्न र सावाँ र ब्याज चुक्ता गर्न निश्चित समयावधि थप गर्न पनि माग गरिएको छ ।
प्रतिक्रिया