काठमाडौंको सस्तोबजारमा ग्राहकको चहलपहल (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०८० काठमाडौं । नयाँ लुगाका लागि चाड नै पखर्नुपर्ने त होइन तर नेपालमा दसैं भन्नासाथ नयाँ लुगा र मिठो खानाको चर्चा भइ नै हाल्छ । काठमाडौंमा फुटपाथदेखि शपिङ मलसम्मै नयाँ लुगा किन्नेको भीड छ ।
गच्छेअनुसारको किनमेलका लागि अनुकुल स्थानमा जाने चलन छ । दसैंको किनमेल सस्तोमै गर्न चाहनेका लागि पनि काठमाडौंमा पर्याप्त बजार छन् । केही स्थानमा तुलनात्मक रुपमा अन्यत्र भन्दा सस्तैमा लत्ताकपडा किन्न सकिन्छ । त्यसैले अन्यन्त्र भन्दा मनिसहरुको भिडभाड बढी सस्तोबजारमै छ ।
भृकुटी मण्डपमा रहेको खुलाबजारमा अन्यत्र भन्दा सस्तोमा लुगा किन्न पाइन्छ । चीन र नेपालमा उत्पादन भएका कपडाहरुको विक्री यहाँ धेरै हुने गरेको छ । सयौँ पसल एकै स्थानमा भएकोले छानीछानी कपडा किन्न पनि भृकुटीमण्डप उपयुक्त स्थान बनेको छ ।
काठमाडौंको प्राचीन बजारका रुपमा रहेको असन अहिले पनि नुनदेखि सुनसम्मका लागि परिचित छ । न्यूरोड, महाबौद्ध हुँदै असनसम्मको क्षेत्रमा फुटपाथदेखि मल सम्म छन् । अधिकांश पसलमा सेल मेला लाग्ने हुँदा तुलनात्मक रुपमा असन बजार लत्ता कपडा किन्नका लागि सस्तो र उपयुक्त गन्तव्य हो ।
सुन्धाराको सडक पेटीमा पनि सबै प्रकारका लत्ताकपडा पाइन्छ । मान्छेहरुको चहलपहल धेरै हुने र सस्तोमा कपडा पाइने बजारको रुपमा सुन्धारालाई लिने गरिन्छ । सुन्धारामा लत्ताकपडादेखि अन्य धेरै अत्यावश्यक सामान तुलनात्मक रुपमा सस्तो पाईन्छ ।
बानेश्वर चोकको पिपल चौतारा नजिक सस्तोबजारमा उपभोक्ताले आफ्नो रोजाइ अनुसार लत्ता कपडा खरिद गर्न सक्छन् । दसैं लागेसँगै देखिएको भीडले पनि सस्तो बजारका रुपमा उपभोक्ताको आकर्षण बढिसकेको बुझ्न सकिन्छ ।
सस्तोबजारमा किनमेल गर्ने मान्छेको भिडभाड धेरै देखेपछि ब्यापारीहरु पनि दङ छन्।
कपडा किन्दा सस्तोमात्रै हेरेर हुँदैन,सचेत पनि हुनुपर्छ । साना पसलदेखि ठूला मलसम्ममा कपडाको मूल्यमा बार्गेनिङले काम गर्छ । मोलमोलाई गरेन भने महंगोमा परिने कतिपयको अनुभव छ ।
जे होस् चाड पर्वसँगै सस्तो बजारमा हुने भीडले व्यापारी पनि दंग छन् भने थोरै मूल्यमा सपरिवारका लागि किनमेल गर्नुपर्नेका लागि सजिलोसमेत भएको छ ।
प्रतिक्रिया