आर्थिक

सरकारको राजस्व लक्ष कमजोर, पहिलो त्रैमासमा ११ प्रतिशत मात्र (भिडियो रिपोर्टसहित)

२०८० असोज १३ गते २०:४४
सरकारको राजस्व लक्ष कमजोर, पहिलो त्रैमासमा ११ प्रतिशत मात्र (भिडियो रिपोर्टसहित)

१३ असोज २०८० काठमाडौं । राजस्व संकलनमा सरकारलाई पहिलो त्रैमासमै ठूलो धक्का लाग्ने भएको छ । पहिलो तीन महिना असोज १२ गतेसम्म सरकारले लक्ष्यको ११ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

अर्थतन्त्रमा पछिल्लो समय चरम निराशा देखिएकाले आन्तरिक माग ठूलो मात्रामा घटेको छ । चाडपर्वको मुखमै बजारमा गत वर्षको जस्तो उत्साहज छैन । जसले गर्दा सरकारको राजस्व समेत प्रभावित बनेको हो । यो अवस्थामा त्रैमास सकिन लागेसँगै बैंकको ब्याजदर र राज्यको कर आतंकले व्यवसायीहरु थप चिन्तित छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले चालू आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गर्नुभएको छ । गएको वर्षको तुलनामा लक्ष्य भेट्टाउन ४० प्रतिशत अर्थात् ४ खर्ब १२ अर्ब धेरै राजस्व उठाउनुपर्ने हुन्छ ।

यो लक्ष्यअनुसार अब प्रत्येक तीन महिनामा ३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी राजस्व सकंनल गर्नुपर्छ । तर आर्थिक वर्षको पहिलो तीन महिना असोज १२ गतेसम्म केबल १ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । यस आधारमा अब बाँकी १५ दिनमा सरकारले १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । जुन असम्भव जस्तै हो ।

उसो त मन्त्री महतले राजस्व उठाउने काममा जिम्मेवारी र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिइसक्नु भएको छ । तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि कर अधिकृतहरु जसरी भए पनि उठाउने ध्याउन्नमा छन् । उद्योगी व्यवसायीलाई अग्रिम कर बुझाउन फोन गरेर दबाव दिन थालेको गुनासो छ । बैंकको ब्याजदरको दबाव पनि उत्तिकै छ ।

आर्थिक मन्दीका कारण कुल क्षमताको ४० देखि ५० प्रतिशत क्षमतामा मात्रै उद्योगहरु चलेका छन् । जसले आम्दानी सुकेको छ। यस्तो अवस्थामा पनि हचुवाका भरमा करनीति लिने र लक्ष्य लिने अनि उक्त लक्ष्य भेट्टाउने नाममा घेराबन्दी गर्ने कार्यलाई स्वयं अर्थमन्त्री महतले उक्साइ रहेको निजी क्षेत्रको आरोप छ । यो वर्ष दाताबाट अहिलेसम्म एक रुपैयाँ पनि अनुदान प्राप्त गर्न नसकेकाले पनि कर उठाउन सरकारले दबाव बढाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *