भारतको रियल टाइम मार्केटमा नेपालको बिजुली बिक्री शुरू
१३ असोज २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज आईएक्सको रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न थालेको छ ।
भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि डे अहेड बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले आजबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाएको हो ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९ दशमलव ४ मेगावाटको तल्लो मोदी र २४ दशमलव २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजनाबाट उत्पादन भएको करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा अनुमति दिएको थियो ।
अनुमति पाएलगतै आजैबाट विक्रि सुरु गरिएको विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति आज सकिंदै थियो ।
डे अहेडको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताउनुभयो ।
रियल टाइम मार्केट अन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ ।
भारतको विद्युत मन्त्रालयले साउन १५ मा विद्युत् आयातरनिर्यात स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमति प्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया