आर्थिक

१२ वर्षमा लगानी बोर्डमार्फत ५ खर्ब वैदेशिक लगानी भित्रियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २२ गते २१:१४
१२ वर्षमा लगानी बोर्डमार्फत ५ खर्ब वैदेशिक लगानी भित्रियो (भिडियो रिपोर्टसहित)

२२ भदौ २०८० काठमाडौं । वैदेशिक लगानी बढाउन भन्दै सरकारले गत वर्ष लगानीको न्यूनतमा सीमा ५ करोडबाट २ करोडमा झार्‍यो । तर लगानीकर्ताहरु आकर्षित हुन सकेनन् ।

गत वर्ष ३८ अर्बको प्रतिवद्धतामा ७ अर्ब मात्रै भित्रिएयो । स्थापनाको १२ वर्षमा लगानी बोर्ड मार्फत् ५ खर्ब मात्र लगानी भित्रिएको छ । नीतिगत झन्झटसँगै आर्थिक समस्याका कारण लगानी निरुत्साहित हुँदै गएको देखिन्छ ।

ठूला पूर्वाधार र उत्पादन परियोजनामा लगानी प्रवर्द्धन गर्ने उद्धेश्यले स्थापित लगानी बोर्डले १२ वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। उक्त लगानी ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ गरी कूल ४२ परियोजनाका लागि आएको हो । हालसम्म बोर्डमार्फत् पाँच खर्ब २५ अर्ब बराबरको लगानी परिचालन भएको छ ।

यस्तै उद्योग विभाग मार्फत गत आर्थिक वर्ष ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आयो । विभागका अनुसार २९७ वटा साना, २५ वटा मझौला र ५ वटा ठूलो उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । ३८ अर्बको लगानी प्रतिबद्धता आएकामा ७ अर्ब रुपैयाँ मात्र रकम भित्रियो । प्रतिवद्धता अनुसार कुनै पनि वर्ष लगानी भित्रन सकेको छैन । तर सरकार भने लगानी आकर्षित गर्न सम्मेलनको तयारीमा छ ।

सरकारले लगानी प्रवर्द्धन गर्ने बताए पनि लगानीमैत्री सरकारी नीतिको अभावमा आन्तरिक एवम् बाह्य लगानीकर्ताहरु त्रसित छन् । अस्थिर सरकार र नीति लगानीको मुख्य बाधक रहेको निजी क्षेत्रको ठहर छ ।

आर्थिक वर्ष २०७५–०७६ मा २५ अर्बको लगानी प्रतिवद्धतामा १३ अर्ब रुपैयाँ मात्रै भित्रियो । २०७६–०७७ मा ३७ अर्बको प्रतिवद्धतामा १९ अर्ब भित्रियो भने २०७७–०७८ मा ३२ अर्बको प्रतिवद्धामा १९ अर्ब रुपैयाँ मात्र भित्रिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८–०७९ मा ५३ अर्बको प्रतिवद्धता आएको थियो तर १८ अर्ब मात्र भित्रियो । नीति तथा संस्थागत सुधार नहुँदा विदेशी लगानी भित्रनुको साटो घट्दै गएको देखिन्छ । मुलुकभित्रको नीतिगत र संस्थागत सुधार हुन नसक्दा लगानीको वातावरण केबल गफमा मात्र सिमिति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *