इलाममा उद्योग दर्ताको क्रम घट्दै (भिडियो रिपोर्टसहित)

१३ भदौ २०८० इलाम । पूर्वी पहाडको इलाममा उद्योग दर्ताको क्रम घट्दै गएको छ । देशमा बढ्दै गएको आर्थिक मन्दी, युवाहरुको विदेश पलायन लगायतका कारणले नयाँ उद्योग दर्ताको संख्या घटेको छ भने स्थापित उद्योगहरु बन्द हुन थालेका छन् ।
इलाममा आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा उद्योग दर्ताको संख्या ५० प्रतिशतले घटेको छ । अघिल्लो आवमा ५ सय २८ वटा उद्योग दर्ता भएकोमा गत आवमा २ सय ९३ वटा मात्र उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामको तथ्याङ्कले देखाएको छ ।
देशको पछिल्लो आर्थिक मन्दी, युवाहरुको बढ्दो बैदेशिक रोजगारको असर, उत्पादित बस्तुको बजारीकरणको समस्या प्याकेजिङ एवं ब्राण्डिङको समस्या लगायतका कारण उद्योग दर्ताको संख्या घटेको यहाँ उद्योग स्थापनामा परेको हुन सक्ने कार्यालयको भनाई छ ।
इलाममा अहिलेसम्म पाँच हजार आठ सय ९० वटा उद्योग दर्ता भएका छन् । तर, सबै उद्योग संचालनमा छैनन् । यसमध्ये झण्डै आधा उद्योगमात्र संचालनमा रहेको र त्यसमध्ये पनि आधा उद्योग बन्द हुन अवस्थामा पुगेको कार्यालयको अनुमान छ ।
अनुदान पाइने बेलामा उद्योग खुल्ने र अनुदान पाएपछि बन्द गर्ने प्रबृत्ति पनि धेरै देखिएको छ । घरेलु कार्यालयमा उर्जा, कृषि तथा वन पैदावार, खनिज, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र सेवामुलक उद्योगहरु दर्ता हुन्छन् । इलाममा दुई सय १३ वटा उद्योग कृषि तथा वन पैदावारसम्बन्धि छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु कृषि तथा पशुपालन उद्योगतर्फ लागेकाले यस प्रकृतिको उद्योग धेरै दर्ता भएको देखिएपनि अन्य आर्थिक बर्षको तुलनामा भने अत्यन्त न्यून हो । यसमा डेरी उद्योगका साथै दुग्धजन्य पदार्थबाट बन्ने मिठाइका उद्योग बढी छ ।
उद्योग दर्ताबाट मात्रै गत आर्थिक वर्षमा घरेलुले ३४ लाख ६४ हजार चार सय रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, पछिल्लो समय उद्योग दर्ताको संख्या घट्दै जाँदा युवाले रोजगारीको अवसर पनि गुमाउँदै गएका छन् । राज्यले उद्योगी मैत्री वातावरण बनाउने घोषणा गरेपनि इलामको यो तथ्यांक हेर्दा राज्यको नीति प्रभावकारी भएको देखिँदैन ।
प्रतिक्रिया