आर्थिक

१५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति, १० महिनाको आयात धान्न पुग्ने

हिमालय टिभी
२०८० भदौ १ गते १६:१०
१५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति, १० महिनाको आयात धान्न पुग्ने

१ भदौ २०८० काठमाडौं । देशमा कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको विवरण अनुसार २०७९ असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

२०८० असार मसान्तसम्म आइपुग्दा सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको हो । यसले ११ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

यस्तै गत वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।यो अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढी हो । शधानान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा रहेको छ ।

शोधनान्तर स्थित बचतमा भए पनि चालु खाताको घाटा भने बढेको छ । गत फागुनमा चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ पुगेकोमा असार मसान्तमा बढेर ७२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा महंगी भने बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष समग्र उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशत रहेकोमा गत वर्ष ७ दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *