आर्थिक

अर्थतन्त्रः नेपाल ९८औँ स्थानमा (भिडियो रिपोर्टसहित)

२०८० साउन २६ गते २०:४२
अर्थतन्त्रः नेपाल  ९८औँ स्थानमा (भिडियो रिपोर्टसहित)

२६ साउन २०८० काठमाडौं । विश्व अर्थतन्त्रमा नेपाल दुई तह माथि उक्लिएको छ । सन् २०२३ मा अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको ९८औँ स्थानमा छ । सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ भने चीनले उसलाई पक्ष्याईरहेको छ। हेरौं विश्व अर्थतन्त्रमा कुन मुलुक कतिऔँ स्थानमा ?

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलर बराबर पुगेको छ। यो विश्व अर्थतन्त्रमा शून्य दशमलव ४ प्रतिशत हिस्सा हो ।

योसँगै नेपाल विश्व अर्थतन्त्रको ९८औँ स्थानमा परेको छ। १ सय ९१ देशको सूचीमा नेपालभन्दा अघि ९७ औं स्थानमा दक्षिण अमेरिकी देश पाराग्वे छ भने ९९ औं स्थानमा युरोपको स्टोनिया छ ।

अर्थतन्त्रका आधारमा कुन मुलुकको स्थान कति ?
सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ । अमेरिकाको अर्थतन्त्रको आकार २ सय ७८ खर्ब ५५ अर्ब डलर पुगेको छ। कुल अर्थतन्त्रमा अमेरिकाको हिस्सा एक चौथाई अर्थात २५ दशमलव ५४ प्रतिशत हो ।

दोस्रोमा छिमेकी मुलुक चीन छ । चीनको अर्थतन्त्र १ सय ९३ खर्ब ७४ अर्ब डलर छ । विश्व अर्थतन्त्रमा चीनको हिस्सा १८ दशमलव ४३ प्रतिशत हो ।

यस्तै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापान हो । जापानको अर्थतन्त्र ४४ खर्ब १० अर्ब डलर पुगेको छ । विश्व अर्थतन्त्रमा जापानको हिस्सा ४ दशमलव १९ प्रतिशत हो ।

चौथो स्थानमा रहेको छ जर्मन । जर्मनको अर्थतन्त्र ४३ खर्ब ९० अर्ब डलर छ भने विश्वअर्थतन्त्रमा यसको हिस्सा ४ दशमलव १० प्रतिशत हो ।

पाँचौ स्थानमा अर्को छिमेकी मुलुक भारत रहेको छ । भारतको अर्थतन्त्र ३७ खर्ब ३७ अर्ब डलर छ । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३ दशमलव ५५ प्रतिशत हो ।

यस्तै छैटौँमा बेलायत छ । बेलायतको अर्थतन्त्र ३१ अर्ब ५९ अर्ब डलर बराबर छ । सातौंमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार २९ खर्ब २३ अर्ब डलर छ ।

आठौँ स्थानमा रहेका इटालीको अर्थतन्त्र २१ खर्ब ७० अर्ब, नवौँमा रहेको क्यानडाको २० खर्ब ९० अर्ब डलर छ । दशौंमा भने रुसलाई पछि पार्दै ब्राजिल ठूलो अर्थतन्त्र भएको मुुलुक बनेको छ।

ब्राजिलको अर्थतन्त्र २० खर्ब ८१ अर्ब डलर र एघारौं स्थानमा रहेको रुसको २० खर्ब ६३ अर्ब डलर रहेको छ । सन् २०२३ मा विश्व अर्थतन्त्रको आकार बढेर १ हजार ५० खर्ब डलर पुगेको छ। सन् २०२२ मा १ हजार १६ खर्ब डलर मात्र थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *