आर्थिक

पाल्पामा व्यावसायिक रूपमा ग्यानेडर्मा अर्थात रातो च्याउ खेती (भिडियो रिपोर्टसहित)

२०८० साउन २२ गते १६:२६
पाल्पामा व्यावसायिक रूपमा ग्यानेडर्मा अर्थात रातो च्याउ खेती (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० पाल्पा । पाल्पामा व्यावसायिक रूपमा ग्यानेडर्मा अर्थात रातो च्याउको खेती हुँदै आएको छ ।

औषधीय गुणले भरिएको रातो च्याउको उद्योग नै स्थापना गरेर च्याउको धुलो उत्पादन गरिदै आएको छ । विदेशमा समेत निर्यात गरिँदै आएको रातो च्याउको धुलो अहिले किलोको ५ हजारदेखि २० हजार सम्ममा विक्रि हुने गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ६ स्थित भैरव च्याउ उद्योगले पाँच वर्षयता रातो च्याउ खेती गरिरहेको छ । औषधीय गुणले भरीपूर्ण रातो च्याउको माग विदेशमा समेत अत्यधिक छ ।

उद्योगले रातो च्याउको उत्पादन र प्रशोधन गरेर विक्री वितरण गर्दै आएको छ । ग्यानेडर्मा च्याउ हिमाल, पहाड, तराई सबै स्थानमा लतगाउन सकिन्छ । तर, अन्य च्याउ जस्तो यसलाई तरकारी बनाएर खाइँदैन । यसलाई सुकाएर प्रशोधन गरेर धुलो बनाइन्छ र चियाको रुपमा प्रयोग गरिन्छ । स्वदेशमा मात्र होइन यसको माग विदेशमा समेत उच्च छ ।

दाउरा र स्याउलालाई मेशिनमा पेलेर बनाइएको धुलोलाई पानीसँग मोलेर पलाष्टिकमा प्याकेजिङ गरिन्छ । प्याकेजिङ् गरिएको धुलोलाई भट्टीमा बाफको माध्यमबाट पकाईन्छ ।

यसरी पकाईएको धुलोमा च्याउको विउ राखेर वातावरण अनुकुलित १८ डिग्री सेल्सियस तामक्रम रहने कोठामा ४५ दिनसम्म राखिन्छ । च्याउ फल्न सुरु गरेपछि प्रयाप्त सूर्यको प्रकाश पर्ने टनेलमा सारिन्छ । फलेको च्याउलाई सुकाइन्छ र प्रशोधन गरेर धुलो बनाइन्छ ।

उद्योगले विभिन्न ठाउँमा पुगेर च्याउ संकलन गर्ने, किसानले उत्पादन गरेको च्याउ खरिद गर्दै प्रशोधन र विक्रि वितरण समेत गर्दै आएको छ । तराईमा फलेको रातो च्याउको धुलोलाई ५ हजार, पहाडको १० हजार र हिमालमा फलेको रातो च्याउको धुलोलाई २० हजारसम्ममा विक्रि हुने गरेको छ ।

मागसँगै राम्रो आम्दानी हुन थालेपछि पाल्पाको मदन पोखराका अरु किसान पनि रातो च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *