आर्थिक

नेपालको हकमा चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने तयारी

हिमालय टिभी
२०८० साउन २१ गते १५:०५
नेपालको हकमा चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने तयारी

२१ साउन २०८० काठमाडौं । भारतले विदेशमा चामल निर्यातलाई लगाएको प्रतिबन्ध नेपालको हकमा खुकुलो पार्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भातरीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन सम्बादमा नेपाललाई चामल निर्यातमा अन्य मुलुक जसरी व्यवहार नगर्ने प्रतिवद्धता आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भारतले चामल उत्पादनमा ह्रास आएकोभन्दै नेपालसहितका मुलुकमा निर्यात प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

यसले नेपाली बजारमा चामलको कालोबजारी बढ्नेदेखि उपभोक्तामा त्रास उत्पन्न भएपछि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग संवाद गर्नुभएको थियो । मोदीले नेपाललाई निर्वाधरुपमै निर्यात गर्न तयार रहेको र त्यसको प्राविधिक पक्ष समस्या हटाउने प्रतिवद्धता जनाउनुभएको बताइएको छ ।

नेपालले १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी आयातका लागि माग गरेको छ । नेपालले मागेजति दिने भारतीय प्रधानमन्त्री मोदीले प्रतिवद्धता जनाउनुभएको बताइएको छ । त्यस्तै नेपालका विकास आयोजनाहरुमा आवश्यक विष्फोटक पदार्थ आयातमा पनि भारत लचिलो हुने संकेत गरेको छ ।

केही परियोजनालाई विष्फोटक पदार्थ आयातका लागि सहजिकरण गरिसकेको काठमाडौंंस्थित भारतीय राजदूतावासले जनाएको छ । यहाँ चिनियाँ लगानीकै उद्योगहरु ह्वासिन र ह्वाङ्सी सिमेन्टका लागि विष्फोटक पदार्थ अनधिकृत विक्रिभएकोभन्दै असन्तुष्ट बनेको भारतले आयोजनाको विस्तृत विवरण उपलब्ध गराएको खण्डमा सहजै निर्यात गर्ने भारतीय पक्षले नेपाल सरकारलाई जानकारी गराइसकेको बताइएको छ ।

त्यस्तै दुई प्रधानमन्त्रीबीच दश वर्षमा दश हजार मेगावाट विद्युत व्यापारको दीर्घकालीन योजनाको प्रस्ताव भारतीय मन्त्रिपरिषद्मा पेश भइसकेको विषयमा छलफल भएको थियो ।

यो प्रस्ताव पारित भएपछि नेपालका सबै परियोजनाका विद्युत व्यापारमा सहजिकरण हुने भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन जानुअघि भारतले नेपालसँगको सम्बन्धलाई मजबुद बनाउने गरी छलफल अघि बढाएको हुनसक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *