आर्थिक

उत्पादनका आधारमा दूधमा अनुदान

२०८० असार २५ गते १४:१९
उत्पादनका आधारमा दूधमा अनुदान

२५ असार २०८० रत्ननगर । चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ ।

किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो ।

नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन् ।

यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गर्नुभएको रेग्मीले बताउनुभयो । चार वर्षदेखि नगरभित्रका दुग्ध बिक्री गर्ने किसानलाई नगरपालिकाले दूधमा उत्पादनका आधारमा अनुदान दिँदै आएको छ । यसअघि वार्षिक १० हजार लिटर भन्दाबढी दूध बिक्री गर्ने किसानलाई रू २५ हजारका दरले अनुदान दिँदै आएको थियो ।

यस वर्षदेखि दूध उत्पादनको आधारमा अनुदान वितरण थालिएको नगर पशु सेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले कार्यविधि बनाएर दूधमा अनुदान दिन थालेको हो । दूध उत्पादन गरी सहकारी संस्थामार्फत बिक्री गर्ने किसान÷व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना रहेको छ ।

अनुदान वितरण कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिएको बताउनुभयो । राम्रो दूध उत्पादनका लागि किसानले आहाराको रुपमा घाँसलाई प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो ।

“दाना चोक्कर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन राम्रो हुन्छ” नगर प्रमुख रेग्मीले भन्नुभयो, “दूध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि भएको छ ।”

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले किसानको समस्यालाई सम्बोधन गर्न थोरै रकम भए पनि अनुदानस्वरुप दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा अनुदान रकम थप गरेर किसानका विषयमा सम्बोधन गर्न नगरपालिका लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *