आर्थिक

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

२०८० असार २४ गते १६:११
पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

२४ असार २०८० मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो ।

पिँडालु खेतीबाट नै उहाँले आफ्नो घरखर्च धान्नुभएको छ । उहाँले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गर्नुभएको छ ।

यस क्षेत्रमा सिँचाइको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो नहुने हुँदा यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताउनुभयो । यस्तै अर्का किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आउनुभएको छ । उहाँले अहिले १० कट्ठा क्षेत्रफलमा हात्ती पाउ पिँडालु लगाउनुभएको छ ।

“केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या छैन, विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।” पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै रु एक लाखसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ । पिँडालु खेतीले यहाँको समुदायलाई समूहिकरुपमा काम गर्ने परम्पराको विकाससमेत गरेको कृषक सम्झना तामाङले बताउनुभयो ।

“जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै घरका मिलेर सामूहिकरुपमा अर्मपर्म गरेर काम गर्दा सहज हुने गरेको छ ।” यस क्षेत्रका २५ घरधुरी परिवार अहिले पिँडालु खेतीमा नै आत्मनिर्भर रहेका छन्् । तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिका क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा परिचित छ”, उहाँले भन्नुभयो, “यहाँको तरुलसँगै पिँडालुको पनि बजारमा धेरै माग देखिएको छ ।” गाउँपालिकाले कृषकलाई आवश्यक कृषि सामग्री, मल, बीउ वितरण र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *