आर्थिक

दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

२०८० असार २० गते १३:३३
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

२० असार २०८० काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।

सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकलेसमेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । ऋणपत्र निष्काशित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । “अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलबालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमभन्दा बढी रमकको बोल प्राप्त हुन आएमा बोलबालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ”, राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलबालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ ।

यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइने जनाइएको छ । ऋणपत्रका लागि घटीमा रू ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कका लागि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *