तरकारी खेतीले उदाहरण बनेका बालचन्द्र र विष्णुमाया कार्की दम्पती (भिडियो रिपोर्टसहित)

१७ असार २०८० मुगु । रोजगारीका लागि युवा विदेशिने क्रम बढ्दो छ । तर, गरे नेपालमै केही हुन्छ भन्ने उदाहरण पनि प्रशस्त भेटिन्छ।
तिनैमध्येका एक हुन्, मुगुको छायाँनाथ–रारा नगरपालिकाका कार्की दम्पती । ६ वर्षदेखि कृषि कर्म गर्दै आएका बालचन्द्र र विष्णुमायाले गाउँमै तरकारी खेती गरेर राम्रो आम्दानी लिइरहेका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्की गाउँका बालचन्द्र कार्की र विष्णुमाया रावल कार्की ६ वर्षदेखि तरकारी खेती गरिरहनु भएको छ ।
बिहान उठ्ने बित्तिकै खेतमा पुग्नु, तरकारी बालीमा सिंचाई गर्नु, रोग कीरा लागे नलागेको हेर्नु र गोडमेल गर्नु कार्की दम्पतीको दैनिकी हो । उहाँहरुले सात रोपनी जग्गामा गोलभेंडा, काउली, बन्दा, बोडी, खुर्सानी लगाउनुभएको छ ।
समाजले पढे लेखेका मानिसले खेती किसानी गर्दा नकारात्मक रुपमा हेर्ने गरेको छ । स्नातकसम्म पढेका बालचन्द्र यो सोच चिर्ने अभियानमा हुनुहुन्छ। तरकारी खेतीबाट उहाँ वार्षिक चार लाखसम्म आम्दानी गर्नुहुन्छ ।
मौसमी र बेमौसमी खेती गर्दै आएका कार्की दम्पतीले उत्पादित तरकारी सदरमुकाम गमगढीमा विक्री गर्छन् ।
अधिकांश रोजगारीको लागि भौतारिएका छन भने कोहि रोजगारीको लागि विदेश पलाएन भएका छन् । सफल किसानका रुपमा परिचित कार्की परिवारले व्यावसायिक तरकारी खेत सुरुमा दुई वटा गरा बाट सुरु गरेका थिए । अहिले सात रोपनीमा विस्तार भएको छ ।
प्रतिक्रिया