आर्थिक

भन्सारमा कडाइ, सीमामा बढ्यो तस्करी (भिडियो रिपोर्टसहित)

२०८० असार १६ गते २१:०१
भन्सारमा कडाइ, सीमामा बढ्यो तस्करी (भिडियो रिपोर्टसहित)

१६ असार २०८० बुटवल । नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजारमा खोलिएका पसलहरू नयाँ भन्सारमा गरिएको कडाइले सुनसान बन्दै गएका छन् ।

यसअघि उपभोक्ताले आवश्यक वस्तु सहजै भन्सारबिना ल्याउन पाउने विभिन्न नाकाहरूमा एक सय रुपैयाँभन्दा बढी सामग्रीको अनिवार्य भन्सार गराउन थालिएपछि सामान खरिदका लागि भारतीय बजार जानेको संख्या पूरै हटेजस्तै भएको छ । तर सीमाबाट हुने चोरी निकासी भने बढेको छ ।

यो नेपाल भारत सिमानाका रुपन्देहीको बेलहिया नाका हो । भैरहवा भन्सार कार्यालयको यात्रु सहायता कक्ष नजिकै एक सय रुपैंयाँ भन्दा बढी मूल्यको मालसमान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले आफ्नो साथमा ल्याएको मालसमानको अनिवार्य घोषणा गरी जाँचपास गराएर राजस्व बुझाँउनु पर्ने छ भनेर लेखिएको छ ।

यसरी सूचना टाँस गरेर जाँचपास सुरु गरिएको एक महिना भन्दा बढी भयो । गत जेठ १६ देखि भैरहवा भन्सार कार्यालयले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयन गरेपछि राजश्व वृद्धि मात्रै भएको छैन नेपाली बजारमा उपभोक्ताको चहलपहल बढेको छ । भन्सार तिर्नुपर्ने नियमले देशकै दोस्रो ठूलो सीमा नाका बेलहियामा पहिलेको तुलनामा कम चहलपहल भइरहेको छ ।

भन्सार नीति कार्यान्वयन हुँदा भिडभाड हुने सुनौली, नौतनहवा बजार सुनसान छन् । भारतीय व्यापारीहरू भने भन्सार नीति कार्यान्वयन नगराउन विभिन्न आन्दोलन तथा दबाबका कार्यक्रममा लागेका छन् । सीमा बजार बेलहिया, नौतनहवाका ९५ प्रतिशत ग्राहक नेपाली हुन् ।

नेपाली बजारलाई चलायमान बनाउन सीमावर्ती बजारमा भन्सार नीति कडा गर्नुपर्ने विषय व्यावसायिक संघसंस्थाले पटक पटक उठाउँदै आएपनि अहिले बल्ल कार्यान्वयनमा आएको छ । भन्सारमा गरिएको कडाइबाट नेपाली बजारमा चहलपहल सुरु भएको भन्दै रुपन्देहीका व्यापारी खुसी भएका छन् ।

रुपन्देही जिल्लामा भारतसँग जोडिएको करिब ६० किलोमिटर खुला सीमा छ । बेलहिया नाकामा कडाइ गरिएपछि अहिले उपभोक्ताहरू अन्य साना नाकातर्फ केन्द्रित हुन थालेका छन् । अन्य नाकामा पनि कडाइ गरिएको बताइए पनि खुला सीमाका कारण सबै ठाउँमा रोक्न पर्याप्त कर्मचारी र सुरक्षा संयन्त्र छैन ।

बेलहिया नाकामा कडाइ गरिएपनि खुला नाकाको फाइदा उठाउँदै केही व्यापारी तथा उपभोक्ताहरूले विना भन्सार नै सामान ल्याउने गरेका छन् । प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य पर्ने मालसमान बरामद गर्ने घटनामा बृद्धि हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *